सिमेन्टका कारण औसतमा सबै उद्योग क्षमता घट्यो, वियर उद्योगको क्षमतामा ९९.७ प्रतिशत संचालनमा



काठमाडौं । नेपालमा सञ्चालित प्रमुख उद्योगहरुको क्षमता, उपयोग र उत्पादन २.६ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षण अनुसार अघिल्लो आवमा औसतमा उद्योगको क्षमता उपयोग ५९.७ प्रतिशत रहेकोमा गत आवमा ती उद्योगको क्षमता उपयोग २.६ प्रतिशतले घटेर औषतमा ५७.१ मा सीमित भएको छ ।

सिमेन्ट उत्पादनमा थप सिमेन्ट उद्योग सञ्चालनमा आएका कारण सिमेन्ट उद्योगको क्षमता उपयोग घट्न गई समग्र उद्योगको क्षमता उपयोग कम देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालित उद्योगहरुमा सबैभन्दा बढी क्षमता उपयोग भएको वियर उद्योग छ । जसको क्षमता उपयोग ९९.७ प्रतिशत रहेको छ । भने टायर उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ ।

समीक्षा अवधिमा टायर उद्योगको क्षमता उपयोग औसतमा १५.८ प्रतिशतमात्र देखिएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष ८ वटा क्षेत्रका ५७ वटा जिल्लाका उद्योगमा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणको अध्ययनले समेटेका उद्योगमध्ये तोरीको तेल, भटमासको तेल, प्रशोधित दुध, गहुँको पिठो, चिनी, चकलेट, मदिरा, वियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रडलगायतको उत्पादन वृद्धि भएको छ । त्यस्तै, चामल, पशुदाना, चाउचाउ, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, गार्मेन्ट, प्रशोधित छाला, चिरेको काठ र पश्मिनालगायतको उत्पादन घटेको छ ।

विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँंगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ । भने विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँंगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकोले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ ।

जसमा बनस्पती घिउ तथा तेल १३२.४ प्रतिशत, दुग्ध पदार्थ २८.० प्रतिशत, अन्य खाद्य पदार्थ ३.७ प्रतिशत, पेय पदार्थ ९.० प्रतिशत, लत्ता कपडा १६.२ प्रतिशत, अन्य कपडा १०.५ प्रतिशत, कागज तथा कागजका उत्पादन ३१.४ प्रतिशतले बढेको छ ।

त्यस्तै, आधारभूत रसायन ६.५ प्रतिशत, अन्य रासायनिक पदार्थ २२.१ प्रतिशत, फेब्रिकेटेड धातुका सामान ५.८ प्रतिशत, धातुका उपकरण ३२.८ प्रतिशत, काठ तथा काठको सामान ०.१ प्रतिशत र जुत्ताको उत्पादन ०.९ प्रतिशतले बढेको छ ।

साथै अन्न तथा पशुदाना ६.९ प्रतिशत, सुर्तीजन्य वस्तु २४.१ प्रतिशत, तयारी कपडा २०.६ प्रतिशत, प्लाष्टिकजन्य उत्पादन ०.८ प्रतिशत र बिजुलीका उपकरणकोउत्पादन ०.३ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रुपमा काठमाडांै क्षेत्रमा विशेष गरी प्रशोधित दुध, पश्मिना, चाउचाउ, औषधिजन्य वस्तु र जुत्तालगायतका उत्पादन हुने गरेको छ ।

विराटनगर क्षेत्रमा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन प्रमुख रहेको छ ।

जनकपुर क्षेत्रमा मदिरा, कागज, सिमेन्ट उत्पादन हुने गरेको छ । त्यसैगरी, वीरगञ्ज क्षेत्रमा वनस्पति घिउ तथा तेल, प्रशोधित दुध, पशुदाना, हल्का पेय पदार्थ, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी, फलामको छड तथा पत्ति, पोखरा क्षेत्रमा विस्कुट, चाउचाउ, सद्धार्थनगर क्षेत्रमा गहुँको पिठो, वियर, औषधि, सिमेन्ट; नेपालगञ्ज क्षेत्रमा तोरीको तेल, गहुँको पिठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ ।


क्लिकमान्डु