राष्ट्रको लागि भन्दा आफ्नो परिवारका लागि संघर्ष गर्नेको संख्या बढ्योः मेयर शाक्य



काठमाडौँ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ ।

माथेमालाई तत्कालिन शासकले झुण्ड््याएर मृत्युदण्ड दिएको स्थानमा शालिक निर्माण गरिएको हो । सिफलको उकालो स्थित बकाइनाको रुख भएकै स्थानमा उनको पूर्णकदको शालिक निर्माण गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले निर्माण गरेको शालिक काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् । करिब १७ लाखमा निर्माण भएको शालिकको अनावरण गर्दै मेयर शाक्यले जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार सहिद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको स्मरण गरे ।

‘उहाँहरुले (चार शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर) मेरो र मेरो परिवारका लागि होइन राष्ट्र र जनताका लागि केही गर्नुपर्छ भन्ने निस्वार्थ भावनाले तत्कालिन राणा शासनका विरुद्धमा आन्दोनल गर्नुभयो,’ मेयर शाक्यले धर्मभक्तको पूर्णकदको शालिक अघिल्लतिर उँभिएर चार शहीदको सम्झना गर्दै उहाँहरुले आफ्ना लागि केही माग्नु भएन । जति माग्नु भयो देश र जनताका लागि माग्नुभयो, त्यसकारण पनि हामी उहाँलाई सम्झिरहन्छौैँ र हाम्रो पुस्ताले पनि उहाँहरुलाई सम्झिरहनुपर्छ ।’

मेयर शाक्यले अहिले पनि म र मेरो परिवार भन्दा पनि राष्ट्र र जनताका लागि भनेर संघर्ष गर्नेहरुको सख्ंया निकै थोरै भएको उल्लेख गरे । उनले त्यतिबेला आफ्नो परिवारको सन्तान गुमाउने सहिद परिवारको सम्मानका लागि पनि महानगरपालिकाले चार सहिदका पूर्णकदका लागि निर्माण गर्ने योजना बनाएको बताए ।

‘हामीले आज यहाँ धर्मभक्तको पूर्णकदको शालिक निर्माण गरेको छौँ,’ शाक्यले भने, ‘अब माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानेर मृत्यु दण्ड दिएको शोभा भगवतीमा उहाँहरुको पूर्णकदको शालिक अनवरण गर्ने कार्यक्रम छ ।’

शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । उनी वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हत्या गरिएको थियो ।


क्लिकमान्डु