भक्तपुरको दुवाकोटमा बीर अस्पताल बन्दै, भवन बनाइदिन चीन सरकारलाई पत्र पठाउने निर्णय



काठमाडौं । भक्तपुरको दुवाकोटमा बीर अस्पताल निर्माण हुने भएको छ । काठमाडौंको कोलाहलबाट बीर अस्पताललाई बिस्तार गरेर दुवाकोट पुर्याइन लागिएको हो ।

चाँगुनारायण नगरपालिका वडा नं. २ र ४ मा ५७० रोपनी बीर अस्पताल बनाउनका लागि ०७२ सालमै निर्णय भएको थियो । चीन सरकारले डीपीआर र अस्पतालको भवन बनाइदिने इच्छा व्यक्त गरेको थियो ।

चीनले सडक सुविधा, खानेपानी, ढल निकास र व्यस्तीको व्यवस्थापनमा सरकारले सहयोग गर्नुपर्ने शर्त राखेको थियो ।

तयारीका कामहरु सक्नका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा ४० करोड रुपैयाँ बजेट विनियोजन पनि गरिसकेको छ । तर, अहिलेसम्म काम भने भएको थियो ।

सोमबार अर्थमन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अर्थमन्त्री डा. युवराज खतिवडा, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, भक्तपुरका सांसद महेश बस्नेतसँगै वीर अस्पताका भीसी डा. डीएन शाह, चांगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रसहित बसेको बैठकले चीन सरकारलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

‘भरे/भोलि नै अर्थ मन्त्रालयले चीन सरकारलाई पत्राचार गर्छ,’ भक्तपुरका सांसद महेश बस्नेतले क्लिकमाण्डूसँग भने ।

सरकारले बिनियोजन गरेको ४० करोड रुपैयाँ खानेपानी, विद्युत, ढललगायतको पूर्वाधार निर्माणमा खर्च गर्ने निर्णय पनि गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउने, खानेपानी मन्त्रालयले खानेपानी पुर्याउने, उर्जाले बिजुली पुर्याउने र नगरपालिकाले त्यसका लागि समन्वय गर्ने छ।

त्यसैगरी, भक्तपुरको मध्यपुर निकोसेरा खहरे खोलाको करिडोरको बाटो दुवाकोटमा प्रस्तावित वीर अस्पतालसम्म दाँयाबाँया ७/७ मिटर सडक चौडा र कालोपत्रे गर्नका लागि आवश्यक बजेट बिनियोजनका लागि समेत सोमबारै उक्त सडकको निरिक्षण समेत गरिएको सांसद बस्नेतले जानकारी दिए ।

त्यस्तै, राधेरोधेस्थित भाटभाटेनीबाट ४ किलोमिटरमै प्रस्तावित बीर अस्पतालसम्म पुग्ने बाटो निर्माणलाई पनि अघि बढाउने उनको भनाइ थियो ।

‘दुवाकोटमा बीर अस्पताल बन्दा भक्तपुरको मुहार फेरिन्छ,’ बस्नेतले भने ।


पुष्प दुलाल