विश्वकपमा रोनाल्डो र मेस्सीबीच भिडन्त होला ? यस्ता छन् सम्भावित परिदृश्य

49
Shares

एजेन्सी । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो फुटबल मैदानमा कुनै प्रतिस्पर्धात्मक खेलमा एक–अर्काको विरुद्धमा उत्रिएको करिब ६ वर्ष भइसकेको छ ।

अन्तिम पटक उनीहरू सन् २०२० को च्याम्पियन्स लिगमा भिडेका थिए । त्यसमा बार्सिलोना युभेन्टससँग ०–३ ले पराजित भएको थियो । उक्त खेलको समूह चरणमा रोनाल्डोले मेस्सीको बार्सिलोना विरुद्ध दुई गोल गरेका थिए ।

त्यसयता यी दुई खेलाडीको करियरको बाटो फरक हुँदा मैदानमा आमनेसामने हुने अवसर जुरेको छैन । तर, फिफा विश्वकप २०२६ मा यी सबै कुरा परिवर्तन हुन सक्छन् । त्यहाँ अर्जेन्टिना र पोर्चुगलबीच क्वार्टरफाइनलमै भिडन्त हुने सम्भावना देखिएको छ ।

यसपटकको विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा छ भने पोर्चुगल समूह ‘के’ मा परेको छ । मेस्सीको अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डन जस्ता टोलीहरूको सामना गर्नुपर्नेछ भने रोनाल्डोको पोर्चुगलले डीआर कंगो, उज्बेकिस्तान र कोलम्बियाको सामना गर्नेछ ।

यी दुई टोलीको प्रदर्शनका आधारमा विश्वकपमा मेस्सी र रोनाल्डोबीच भिडन्त हुन सक्ने मुख्य तीनवटा सम्भावनाहरू रहेका छन् ।

पहिलो सम्भावना अनुसार, अर्जेन्टिना (समूह जे) र पोर्चुगल (समूह के) दुवैले आ–आफ्नो समूहको शीर्ष स्थान हासिल गरे भने उनीहरू प्रतियोगिताको ब्य्राकेटको एउटै पक्षमा पर्नेछन् ।

यस्तो अवस्थामा उनीहरू दुवैले राउन्ड अफ ३२ र राउन्ड अफ १६ का आ–आफ्ना खेलहरू जिते भने प्रतियोगिताको क्वार्टरफाइनलमा मेस्सी र रोनाल्डो एक अर्काविरुद्ध मैदानमा उत्रनेछन् ।

दोस्रो सम्भावना अनुसार, अर्जेन्टिना र पोर्चुगल दुवै आ–आफ्नो समूहमा दोस्रो स्थानमा रहेर उपविजेता बने भने प्रतियोगिताको संरचनाले उनीहरूलाई क्वार्टरफाइनलमा भेट हुनबाट रोक्नेछ । यस्तो समीकरण बनेमा उनीहरू राउन्ड अफ १६ मै एक अर्काविरुद्ध खेल्नुपर्ने हुन्छ । यद्यपि, उनीहरूका विपक्षी टोलीहरूको स्तर र वर्तमान क्षमतालाई हेर्दा दुवै टोली समूहमा दोस्रो हुने सम्भावना निकै कम देखिन्छ ।

तेस्रो सम्भावना अनुसार, अर्जेन्टिना र पोर्चुगलमध्ये एकले आफ्नो समूह जित्यो र अर्को टोली दोस्रो स्थानमा रह्यो भने उनीहरूको भेट हुने बाटो अन्तिमसम्मका लागि अलग रहनेछ । यस्तो अवस्थामा मेस्सी र रोनाल्डोको भेट केवल न्यु जर्सीमा हुने विश्वकपको फाइनलमा मात्र सम्भव हुनेछ ।

सन् २०२६ को विश्वकप मेस्सी र रोनाल्डो दुवैका लागि करियरको अन्तिम विश्वकप हुने निश्चित जस्तै भएकाले विश्वभरका प्रशंसकहरू उनीहरूलाई अन्तिमपटक मैदानमा भिडेको हेर्न आतुर छन् । फुटबलका देवताहरूले साथ दिए भने विश्वकपको फाइनलमा यी दुई महान् खेलाडीबीचको भिडन्त खेल इतिहासकै सबैभन्दा स्मरणीय क्षण हुनेछ ।