ऋणमा डुबेका अनिल अम्बानीले पाए साढे १२ अर्ब भारुको बम्पर उपहार
ऋणमा चुर्लुम्मै डुबेका भारतीय उद्योगपति अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनीले सरकारी कम्पनी दामोदर भ्याली कर्पोरेसन (डीभीसी)का विरुद्ध साढे १२ अर्ब भारुको मध्यस्थता अवार्ड जितेको छ ।
रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनीले सरकारी कम्पनी डीभीसीका विरुद्ध साढे १२ अर्ब भारु जितेको जानकारी दिएको छ । कम्पनीले मध्यस्थता अवार्डबाट प्राप्त रकम ऋण चुक्ता गर्न प्रयोग गर्नेछ ।
उक्त अवार्ड जितिसकेपछि सेयर बजारमा रिलायन्स इन्फ्रास्ट्रक्चरको सेयर ५ प्रतिशतले बढेर २४.२५ भारु पुगेको थियो । तर अपर सर्किटको नियम लागू भएकाले कारण ट्रेन्डिङ रोकिएको थियो ।
रिलायन्स इन्फ्रास्ट्रक्चरले ७ वर्ष पुरानो सम्झौतासँग जोडिएको विवादमा उक्त रकम जितेको हो । सन् २०१२ मा भारतको पश्चिम बंगालमा डीभीसीको रघुनाथपुर थर्मल पावर प्रोजेक्टको इन्जिनियरिङ कन्स्ट्रक्सन रिलायन्स इन्फ्रास्ट्रक्चरले पाएको थियो ।
त्यसैसँग जोडिएको विवादमा कम्पनी मध्यस्थता अदालतमा पुगेको थियो । तर अदालतले डीभीसीलाई ८९६ करोड भारु र ३५४ करोड भारु बैंक ग्यारेन्टी फिर्ता गर्न फैसला सुनाएको छ ।
भुक्तानीमा चार हप्ताभन्दा बढी समय भएमा वार्षिक १५ प्रतिशतले ब्याज लाग्ने समेत फैसला सुनाएको छ । रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनीले ७५ प्रतिशत भुक्तानी तुरुन्तै माग गर्ने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । – एजेन्सी