कर्मचारीलाई अख्तियारले धमाधम पक्राउ गर्न थालेपछि प्राधिकरणले ल्यायो नयाँ रणनीति, डायल ११५०



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई घुस लिएको आरोपमा धमाधम पक्राउ गर्न थालेपछि प्राधिकरणले त्यसको नियन्त्रणका लागि प्रयास थालेको छ ।

सो प्रयासलाई प्राधिकरणको आधिकारिक टे«ड यूनियनले सेवा सुधारको पहल भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्राधिकरणका कुनै पनि कर्मचारीले सेवाग्राहीसँग घुस मागेमा वा नाजायज फाइदा लिन खोजेको खण्डमा २४सै घण्टा सञ्चालनमा आउने गरी नयाँ टेलिफोन नम्बर समेत सञ्चालनमा ल्याएको छ ।

नयाँ मिटर जडानमा प्राधिकरणका कर्मचारीले घुस मागेको भन्ने चरम गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा सुधारमा जतिसुकै पहल गरेपनि कर्मचारीले घुस खान नछाडेको पाइएको छ ।

अख्तियारले पछिल्ला ४ दिनमा मात्रै प्राधिकरणका ११ कर्मचारी विरद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौतर्फी विषयमा प्राधिकरणका कर्मचारी घुस प्रकरणमा समातिएपछि प्राधिकरणले त्यसलाई नियन्त्रणका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको हो ।

लोड स्वीकृति जस्ता कार्य गराउँदा कोही कसैले अनावश्यक दुःख दिने, अनाधिकृत रकम माग गर्ने जस्ता कार्य गरेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालन गरिरहेको ११५१ नम्बरमा समेत गुनासो गर्न सकिन्छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत समेत सोही प्रयोजनका लागि ११५० नम्बरको हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

त्यस्तै कार्यालयको टेलिफोन नउठ्ने र समयमा समस्या समाधान नहुने तथा जनगुनासो सम्बोधनका लागि समेत त्यस्तो व्यवस्था गरिएको हो ।

यस्तै विद्युत् महसुल भुक्तानी सहज र सरल बनाउन अनलाइनमार्फत् भुक्तानी गर्ने व्यवस्थालाई थप व्यापक बनाउने, प्राधिकरणले प्रदान गर्ने सेवाको आवश्यक समयावधि र सम्पर्क व्यक्तिसहितको जानकारी दिन सबै कार्यालयमा प्रतिवद्धता सूचना समेत टाँस गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु