काम खोज्न विदेश जाने कामदार बढ्दा पनि विप्रेषण घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा रोजगारीका लागि विदेश जाने नेपाली कामदारको संख्या बढ्दा विप्रेषण आप्रवाह भने घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेर ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

चार महिनाको अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले कमी आएर ३ खर्ब ४४ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु