हुन्डाई र किया ब्राण्डका गाडी नेपालमै उत्पादन हुने, कोरियाली ‘मोटेक्स’सँग लगानी बोर्डको सम्झौता



काठमाडौं । कोरियाली दुई ब्राण्डका गाडी हुन्डाई र कियाको उत्पादन नेपालमा नै हुने भएको छ । त्यसका लागि लगानी बोर्डले कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

मोटेक्सले नेपालमा करिब ११ अर्ब रुपैयाँ लगानी गरेर गाडी उत्पादन गर्ने छ ।

मोटेक्सले नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने सम्झौता भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

नेपालमा उत्पादन हुने भयो गाडी, कोरियाली कम्पनी ‘मोटेक्स’ सँग लगानी बोर्डको सम्झौता

मोटेक्सले कोरियास्थित हुन्डाई र किया ब्राण्डका गाडीसँग नेपालमा एसेम्बल गरी उत्पादन गर्ने सम्झौता गरिसकेको कागजहरु लगानी बोर्डमा प्रस्तुत गरेको छ ।

बोर्डसँग भएको सम्झौता अनुसार वातावरणिय प्रभाव मूल्यांकन (इआइए) सकिएको ३ वर्षभित्र प्लान्ट स्थापना गरी गाडी उत्पादन हुनेछ ।

इआइएका लगानी करिब १ वर्ष लाग्ने अनुमान गरिएको छ । जस अनुसार इएआएपछि अन्तिम स्वीकृति पाए मोटेक्सले आगामी ४ वर्षभित्र नेपालमा हुन्डाई र किया ब्राण्डका गाडी उत्पादन गर्ने छ ।

लगानी बोर्डका सीईओ अधिकारीका अनुसार मोटेक्सले राखेको अस्वभाविक शर्त नमानेको जानकारी दिए ।

‘७ वर्षभित्र अर्को कम्पनी आउन नपाउने, उसले विदेशबाट गाडी आयात गर्न पाउने शर्त हामीले मानेका छैनौं,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

हुन्डाई र किया कम्पनी कोरियाली हुन्डाई अन्तर्गत उत्पादन हुन्छन् । कोरिया बाहिर प्रतिस्पर्धी रहेपनि हुन्डाई र कियाको स्वामित्व हुन्डाई कम्पनीसँग रहेको छ ।

मोटेक्सको निश्चित अवधिका लागि आयकर र मेसिन तथा पार्टपुर्जा आयातमा भन्सार छुट दिनुपर्ने शर्तमा भने लगानी बोर्ड सहमत भएको छ ।

‘नेगोशिएशनका क्रममा अस्वभाविक शर्त हामीले मानेनौं, स्वभाभाविक शर्तहरु मान्यौं’ उनले भने, ‘मोटेक्स लगानी गर्न तयार भयो । र, आज साँझ सम्झौता गरेका छौं ।’

कोरियाली कम्पनी ‘मोटेक्स’सँग लगानी बोर्डले ‘प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट’ (पीआइए) गरेको छ ।

जसमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ‘मोर्टेक्स’का अधिकारीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गाडी उत्पादन गर्न रुपन्देहीको मोतिपुरमा जग्गा पाउने छ ।


क्लिकमान्डु