धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन, कस्ले मार्ला बाजी ?



काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्म ढुंगाना, बोर्डको पूर्वविज्ञ सदस्य निलसारु मगर, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उप-र्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व महाप्रबन्धक सिताराम थपलिया, कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिँजापति र अन्य दुईजनाले आवेदन दिएको बताइएको छ ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीका असोज मसान्तमा ४ वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त अवस्थामा छ ।

बोर्डका अध्यक्ष कार्कीको कार्यकाल समाप्त भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० मा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ ।

आयोगको सदस्यमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र इक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेका छन् । समितिले अध्यक्षका लागि खुला गरेको आवेदनमा ८ जनाको आवेदन परेको हो ।

आवेदकहरुबाट योग्यमध्येका तोकेको मापदण्ड पुरा गरेका ३ जनालाई अर्थ मन्त्रालयमा सिफारिस गरिने छ । केही समय यता धितोपत्र बोर्डको अध्यक्षको रुपमा नेप्सेका पूर्वअध्यक्ष टंक पनेरु  र नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम चर्चामा रहेको थियो ।

तर बोर्डमा पनेरु र अधिकारीको आवेदन नै परेको छैन । आवेदन दिने अवधि शुक्रबार सकिएको छ ।

समितिका संयोजक डा. फुँयालले शुक्रबार आवेदन दिन समय सकिएको बताए । उनले आइतबार वा सोमबारबाट परेको आवेदनमा छलफल गर्ने बताए ।

सरकारले नियुक्ति गर्ने भएकाले भिष्म ढुंगानाको नयाँ अध्यक्ष बन्ने संभावना बलियो भएको सरोकारवालाहरु बताउँछन् ।

ढुंगानालाई बनाउनकै लागि बासुदेब अधिकारी र टंक पनेरुलाई आवदेन नहाल्न भनिएको हुनसक्ने सरोकारवालाहरुको अड्कलबाजी छ ।


पुष्प दुलाल