अर्थमन्त्रालयका सहसचिव सापकोटा भन्छन्- धितोपत्र बोर्डको १० कित्ते नीति ठीक छैन



काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले धितोपत्र बोर्डको हरेक कम्पनीको साधारणसभामा आवेदन दिएका जतिलाई सेयर दिने व्यवस्था राम्रो नभएको बताएका छन् ।

सम्बृद्धि फाउन्डेसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको लगानी सुधारका लागि कानूनहरुको एकिकरण विषयक अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताए ।

यसरी सेयर लिँदा जलविद्युत कम्पनीमा दिन सकिने भएपनि हरेक कम्पनीका आवेदन दिएकाले सेयर पाउने सिस्टम आएपछि लिमिटेडबाट प्रालिमा जान समस्या हुने बताए ।

लिमिटेड कम्पनी भयो भने विजनेश राम्रो रहेछ, केही मान्छेको हातमा मात्रै रहेछन सबैको हातमा रहेछ भनेर बुझ्ने उनको बुझाई छ ।

‘मानौ किताब पसलकै सेयर जारी गर्ने हो भने त्यसको लागि निश्चित मान्छेले मात्रै आवेदन दिन पाउने व्यवस्था हुनुपर्यो, अहिले त जतिले पनि १० कित्ता सेयर दिनुपर्छ भनिएको छ, त्यसलाई करेक्सन गर्नुपर्छ भनेर मैले भनिरहेको छु’ सहसचिव सापकोटाले भने ।

उनले आर्थिक ऐन संशोधनलाई पहिला भन्दा निकै कम गरेको बताए । कार्यक्रममा उनले नेपालमा ऐन कानूनको मामिलामा देखिएको समस्या समाधान गर्ने माध्यम कोडिङ मात्रै नभएको उनको भनाई छ ।

उद्योग व्यवसाय ऐन, वैदेशिक लगानी हस्तान्तरण ऐन (फिटा) मा भएको कुरा एकै खाले रहेपनि एकै ठाँउमा राखेर ऐन बनाउन नसकेको उनको भनाई छ ।

सापकोटाका अनुसार अहिले हरेक मन्त्रालयलाई नयाँ ऐन नचाहिने भन्दै मन्त्रालय पिच्छे ऐन बनाउनुको अर्थ नरहेको बताए ।
‘पहिला जलस्रोतले हेर्ने गरेको थियो, पछि सिन्चाई, खानेपानीको पनि कानून बनाउनु पर्छ, जबकी जलस्रोत एैन नै सबैको लागि काफी छ,’ उनले भने ‘अहिले हामी इट्रिग्रेसन ल को कुरा गरेपनि सेप्रेसन ल तिर जाँदै छौं, सबैलाई आ–आफ्नो कानून चाहिने नै होइन, कुन क्षेत्रमा कसरी जाने हो, कानूनमा भएको समस्या समाधान गर्नुपर्छ ।’

उनले अहिले भन्सार र लगानी बोर्ड एकद्वार प्रणालीमा गएको जानकारी गराए । यो बेला हामीले पानीको, बत्तिको, वन लगायतको छुट्टै नियामक हुनु भन्दा सबै आपसमा भएको खण्डमा काम गर्न सहज हुने उनको भनाई छ ।

सापकोटाले कुनै व्यक्तिले नेपालमा कम्पनी दर्ता गर्ने र कम्पनी चलाउन नसकेर बाहिरीनु परेको खण्डमा समस्या रहेको र त्यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए ।

नेपालमा प्रोजेक्ट फाइनान्स गर्न समस्या रहेको र प्रोजेक्ट राखेर ऋण पाउन सक्ने अवस्था नरहेकोमा चिन्ता जनाए । तर उनले बैंकहरुलाई सहुलितयपूर्ण कर्ता दिन निर्देशन दिएको र त्यसमा कुनै गुनासो नरहेको बताए ।


पुष्प दुलाल