अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरी, छानबिन गर्दै वाणिज्य विभाग



काठमाडौं । अनलाइन सपिङ कम्पनी दराजविरुद्ध उजुरी परेको छ । गत साता बबरमहलस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ठगीको उजुरी परेपछि यतिबेला विभागले छानबिन सुरु गरेको छ ।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालले गत साता दराज कम्पनीका विरुद्ध एउटा सामान अर्डर गरेकोमा अर्कौ सामान डेलिभर गरेको भन्दै उजरी परेको थियो । विभागले शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा छानिबिनका लागि खटाएको थियो ।

त्यसपछि पोखरेल नेतृत्वको टोली गत शुक्रबार दराजको नक्सालस्थित कार्यालयमा गएर कागजपत्र माग गर्दै उपस्थित हुन निर्देशन दिएको थियो ।

‘बिहीबार उजुरी परेको थियो, शुक्रबार नै हामी दराजको कार्यालयमा पुगेका थियौं, अहिले कागजपत्र मगाएर छानबिन चलिरहेको छ’ पोखरेलले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार दराजका प्रतिनिधिले विभागमा उपस्थित भएर उजुरीका विषयमा हामीले उक्त सामान साटिदिन्छौं भनेका थिए ।

‘हामीले दराजका प्रतिनिधिलाई कागजपत्र सहित बोलाएका थियौं, आइतबार उहाँहरु विभागमा आउनु भयो अहिले कागजपत्रमा छानबिन भइरहेको छ’ निमित्त महानिर्देशक बस्यालले भने ।

विभागसँगको कुराकानीमा दराजका प्रतिनिधिले आफूहरुले सामान बिक्री नगर्ने बताउँदै बिक्रेताका सामानको विज्ञापन मात्रै गरिदिएको बताएको पोखरेलले जानकारी दिए ।

उनीहरुले कम्पनीको उद्देश्य अनलाइन विज्ञापन, सफ्टवेयर निर्माण र कार्गो सर्भिस मात्रै हो भन्ने जवाफ दिएको विभागले जनाएको छ ।


क्लिकमान्डु