इलाम र बाग्लुङमा २ जलविद्युत आयोजना सुरु हुँदै



काठमाडौं । इलाम र बाग्लुङ जिल्लामा २ जलविद्युत आयोजना निर्माण हुने भएका छन् ।

इलाम जिल्लाको माइजोगमाई गाउँपालिकामा सान्भी इनर्जी प्रालिले ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने गरी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) गरिरहेको विद्युत विकास विभागले जनाएको छ ।

माइजोगमाई गाउँपालिका ३ स्थित ७.६ मेगावाट क्षमताको जोगमाई जलविद्युत आयोजनाको विद्युतगृहबाट निस्कने पानीलाई कनेक्टिङ च्यानलमार्फत् जोगमाई खोलाको दोभान नजिक निर्माण गरिने विद्युतगृहबाट ५.२ मेगावाट क्षमताको आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत ७ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत् इलाम नगरपालिकामा रहेको १३२ केभी क्षमताको गोदक सव-स्टेसनमा जोडिनेछ ।

त्यस्तै, बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा ५ मेगावाट क्षमताको भीमखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । सो आयोजना शिखर पावर डेभलोप्मेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।

आयोजनाबाट उत्पादित विद्युत १८ किलोमिटर लामो प्रसारण लाइनमार्फत् प्रस्तावित वस्तु सव–स्टेसनमा जोडिनेछ ।


क्लिकमान्डु