यस्तो छ प्राधिकरणको नयाँ विद्युत महसुल प्रस्ताव: घरायसी र साना ग्राहकलाई राहत



काठमाडौँ । विद्युत खपत बढाउने र आधारभूत नागरिकलाई थप सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले नयाँ महसुल दर लागू गर्ने तयारी गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार नयाँ महसुल कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ ।

प्राधिकरणको प्रस्ताव अनुसार नै महसुल समायोजन गर्ने बाटो खुलेमा सबैभन्दा बढी राहत सिँचाइ गर्ने किसानले पाउने भएका छन् ।

प्राधिकरणले कृषि क्षेत्रमा सिँचाइको मात्रा बढाउन सस्तो दरमा विद्युत उपलब्ध गराउने तयारी स्वरुप प्रतियुनिट ४ रुपैयाँ ३० पैसामा विद्युत उपलब्ध गराउनेछ । विशेष गरी तराईका जिल्लामा मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरिएको छ ।

प्राधिकरणले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यलाई साथ दिनका लागि सबैभन्दा सस्तो महसुल दर प्रस्ताव गरेको छ । सो महसुल सामूदायिक खानेपानीको हकमा समेत लागू हुनेछ ।

प्राधिकरणले सिँचाइ र खानेपानी बाहेक न्यूनतम विद्युत खपत गर्नेलाई समेत विद्युत खपत बढाउनका लागि एउटा औसत दर तय गर्ने जनाएको छ ।

प्राधिरकरणको प्रस्ताव अनुसार कूल २० देखि ३० प्रतिशतको हाराहारीमा विद्युत महसुल बढाउने भएको छ ।

३ वर्ष पहिले विद्युत महसुल बढाएको प्राधिकरणले यसपटक भने विद्युत खपत बढाउने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । निर्माणाधिन आयोजना हालकै गतिमा निर्माण भएको खण्डमा चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप १ हजार ३०० मेगावाट विद्युत थप हुनेछ ।

यसवर्षको ६ महिनामा मात्रै प्राधिकरणको प्रणालीमा थप १५० मेगावाट विद्युत थप भइसकेको छ । सोही तथ्यलाई हेरेर विद्युत खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण छ । सोहीअनुसार प्राधिकरणले विद्युत नियमन आयोगलाई महसुल बढाउने प्रस्ताव पठाएको हो । यसले उपभोक्तालाई प्रत्यक्ष असर पर्ने देखिएको छ ।

प्राधिकरणको प्रस्ताव अनुसार नै महसुल समायोजन भए घरायसी ग्राहकले न्यूनतम १०० रुपैयाँ तिर्नुपर्नेछ । हाल ८० रुपैयाँ तिर्दै आएका ग्राहकलाई थप २० रुपैयाँ बढी पर्नेछ ।

तर त्यसमा कसरी सुविधा दिन सकिन्छ र विद्युत खपत कसरी बढाउन सकिन्छ भन्ने मान्यतालाई पनि ध्यान दिने प्राधिकरणको तयारी छ । हाल प्राधिकरणले न्यूनतम मापदण्ड २० यूनिटलाई मानेको छ । न्यूनतम युनिट बढाउने वा महसुल दरमा थप केही विविधकरण गर्ने कि भन्ने सोचमा समेत प्राधिकरण रहेको छ ।

प्राधिकरणले हाल ५, १०, १५, ३० एम्पियरको विद्युत उपलब्ध गराएको छ । त्यस आधारमा ५ एम्पियरको मिटर जडान गरेका ग्राहकले २० युनिटसम्म विद्युत खपत गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

त्यसमा विद्युत महसुल प्रतियुनिट ३ रुपैयाँका दरले ३० रुपैयाँ र सेवाशुल्क ५० रुपैयाँ तिर्नुपर्छ । सेवा शुल्कमा केही छुट दिने कि वा अन्य कुनै उपाय अवलम्बन गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

विद्यमान दर अनुसार १५ एम्पियरको मिटर जडान गर्ने उपभोक्ताले अब न्यूनतम ४४० रुपैया सम्म महसुल तिर्नुपर्छ । विद्यमान व्यवस्था अनुसार त्यस व्यवस्थामा मात्रै ३६५ रुपैयाँ मात्रै तिर्नुपर्दथ्यो ।

थ्री फेज मिटर जडान गर्ने ग्राहकले १० केभीसम्म १४ रुपैयाँ ४० पैसा बराबरको महसुल तिर्नुपर्दछ ।

ग्रामीण तथा साना उद्योगले प्रति युनिट ७ रुपैयाँ ८० पैसा, व्यापारिक प्रतिष्ठानले ११ रुपैयाँ २० पैसा तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै अपर्झट विद्युत जोड्नु परेमा प्रतियुनिट १९ रुपैयाँ ८० पैसासम्म महसुल तिर्नुपर्नेछ ।


क्लिकमान्डु