जलविद्युत कम्पनीको अवस्था बिजोगः ग्रीनलाइफ हाइड्रोपावरको ५२ लाख कित्ता आईपीओ आउँदै



काठमाडौं । धितोपत्र बजारमा अधिकांश जलविद्युत कम्पनीको सेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले गराएको रेटिङमा साधारण सेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण सेयर बिक्री गर्न नदिने नियम बनाएको छ ।

रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड १ प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको सेयरले ‘केयर नेपाल आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लाबासीलाई साधारण सेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसाधारणका लागि साधारण सेयर बिक्रीको तयारी गरेको छ ।
नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर बिक्री गर्नेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना दोलखा जिल्लामा अवस्थित छ । आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत ६ अर्ब ८८ करोड रहेको छ ।


क्लिकमान्डु