२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा कस्ले कति लगानी गर्दैछन् ?



काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले हालसम्मकै ठूलो लगानीसम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार राजधानीमा आयोजिक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितीमा माथिल्लो त्रिशुली एक आयोजनाका प्रबद्र्धकसँग सम्झौता गरे ।

कुल २१६ मेगावाट क्षमताको आयोजना निर्माणका लागि कोरियाली लगानीकर्ताले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट नामक कम्पनी स्थापना गरेको छ ।

सम्झौता अनुसार आइएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एशियाली पूूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात आयात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।

त्यसैगरी, सीसीडी ग्रुपले २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इस्टिच्युशनले १ करोड १० लाख, अन्तर्राष्टिय विकाकसका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर ऋण लगानी गर्नेछन् ।

निर्माण अवधिको ब्याज समेत गरी कुल ६४ अर्ब ७३ लाख रुपैयाँ लागन अनुमान गरिएको आयोजना २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लामो समय अमेरिकी डलरमा विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने वा नगर्ने भन्ने विवादमा परेको आयोजनाको गत वर्ष मात्रै उक्त सम्झौता भएको थियो ।

तोकिएको समयभन्दा करिब ४ वर्षपछि उक्त सम्झौता भएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेनट कम्पनीले आयोजना अब भने तोकिएको समयमा पूरा गर्ने दाबी गरेको छ ।

सन् २००७ मा अनुमति पत्र लिएको उक्त कम्पनीले लामो प्रयासपछि शुक्रबार वित्तीय सम्झौता गर्ने चरणमा आइपुगेको हो ।

आयोजनामा कोरिया साउथ वेस्ट पावरको ५२ प्रतिशत सेयर स्वामित्व छ । आम कोरियाली लगानीकर्ता समेत उसको सेयर हिस्सा ७८ प्रतिशत छ भने नेपाली साझेदारको १० प्रतिशत र आईएफसीको १२ प्रतिशत हिस्सा छ ।

सन् २०१६ को डिसेम्बरमा परियोजना विकास सम्झौता गरेको कम्पनीले गत वर्ष मात्रै प्राधिकरणसँग पीपीए गरेको हो ।

रसुवाको धुञ्चे र मैलुङको बीचमा पर्ने हाकुमा निर्माण हुने विद्युतगृहमा ७२ मेगावाट क्षमताका ३ वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी क्षमताको प्रसारण लाइनमार्फत् निर्माणधिन त्रिशुली थ्री बी सव–स्टेसनमा जोडिनेछ ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने उर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।


क्लिकमान्डु