इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिने तयारी, उर्जाले अर्थमन्त्रालयमा प्रस्ताव पठायो




काठमाडौं । उर्जा जलस्रोत तथा सिचाँइ मन्त्रालयले विद्युतको खपत बढाउनका लागि इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार उर्जा मन्त्रालयले अर्थमन्त्रालय समक्ष इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव पठाएको हो ।

मुलुकमा विद्युतको आपूर्ती बढिरहेको र त्यसको खपत बढाउनका लागि उर्जा मन्त्रालय इन्डक्सन चुल्होको प्रयोग बढाउने लक्ष्यसहित इन्डक्सन चुल्होमा अनुदान दिने योजना बनाएको हो ।

हाल मुलुकमा १२२५ मेगावाट उत्पादन भइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म मुलुकमा थप १ हजार मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जाडिन्छ ।

उत्पादित विद्युत् खेर जान नदिन तथा यसको प्रयोग बढाउनका लागि उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनको प्रयोग र इन्डक्सन चुल्होको प्रयोग बढाउने नीति लिएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा माथिल्लो तामाकोसीको ४५६ मेगावाट, रसुवागढीको १११ मेगावाट, सेनजेन अपर हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको १४.८ मेगावाट र सेनजेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको ४२.५ मेगावाट विद्युत् र बाँकी निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट गरी कुल १ हजार मेगावाट थप हुनेछ ।

अहिले निजी क्षेत्रले करिब ३ हजार मेगावाटका विभिन्न जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । जसमध्ये चालु आर्थिक वर्षको अन्त्यसम्ममा १० वटा आयोजना निर्माण सम्पन्न भइ उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

मुलुकमा प्रयोग भइ बाँकी रहेको विद्युत भारत तथा बंगलादेशमा बिक्री गर्ने तयारी सरकारले गरेको छ ।


क्लिकमान्डु