बैंकबाट पैसा चोरी गर्ने कलेज पढ्ने ‘टुक्डे ग्याङ’, पैसामा कुरा नमिलेपछि छुट्टै समूह बनाए
काठमाडौं । जनता बैंकबाट नक्कली हस्ताक्षर गरी २० लाख रुपैयाँ चोरी गर्ने गिरोहबारे अनुुसन्धान गरिरहेको प्रहरीले उनीहरु लामो समयदेखि ठगी धन्दामा लागेको पत्ता लागेको छ ।
महानगरिय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले उनीहरु २ वर्षदेखि ठगी धन्दामा लागेको अनुसन्धानले देखाएको क्लिकमाण्डूलाई बताए ।
‘२ वर्षदेखि नै सिन्धुपाल्चोकका गोविन्द घिमिरेको नेतृत्वामा ठगी धन्दा गरिरहेको पत्ता लाग्यो, पछि आर्थिक लेनदेन नमिलेपछि टुक्रिएको भेटियो’ बोगटीले भने ।
उनका अनुसार अनुसन्धानका क्रममा यसअघि पनि उनीहरु बाइक चोरीमा संलग्न देखिएको छ ।
प्रहरीले अन टेस्ट बाइक चलाउने बाहनामा चोरी गर्ने गरेको भेटिएको हो । प्रहरीले चोरी भएका २ वटा बाइक समेत भेट्टाइसकेको छ ।
पछि समूहमा आर्थिक कारोबारमा कुरा नमिलेपछि गिरोहबाट टुक्रिएर काभ्रेका अञ्जन बरालको नेतृत्वमा सुभास श्रेष्ठ, कुमार तामाङ र मनिष घिमिरेले बैंकिङ क्षेत्रमा ठगी सुरु गरेका थिए ।
त्यस्तै, गोविन्द घिमिरे र बाग्लुङका सुमन पौडेलले छुट्टै समूहबाट ठगी गर्दै आएको अनुसन्धानमा देखिएको बोगटीको भनाइ छ ।
प्रहरीले उनीहरुको कोठा खानतलासी गर्दा २ बोरा जति विभिन्न व्यक्तिका कागजपत्र भेट्टाएको थियो । साथै विभिन्न बैंकमा भएका विभिन्न व्यक्तिका नाममा जारी भएका चेक तथा एटीएम कार्डहरु समेत बरामत भएको छ ।
‘हामी अनुसन्धानकै चरणमा छौं, कागजपत्र हेर्दा गिरोहले लामो समयदेखि ठगी गर्दै आएको आशंका छ, यसमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
प्रहरीले अहिलेसम्म उक्त समूहले जनता बैंकबाट १९ लाख ९९ हजार रुपैयाँ र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ नक्कली हस्ताक्षर गरी चोरी गरेको पत्ता लगाएको छ ।
भने विभिन्न बैंकमा फेक खाताहरु समेत खोलेको देखिएको छ । जसमा मुक्तिनााथ विकास बैंकमा मात्रै प्रारम्भिक अनुसन्धानमा ३ दर्जन जति खाता खोलेको देखिएको बैंक स्रोतले देखाएको छ ।
साथै अन्य बैंकको पनि चेक तथा एटीएमकार्ड, विभिन्न व्यक्तिहरुका फोटा, नागरिकताको प्रतिलिपि भेटिएकाले सुक्ष्म ढंगले अनुसन्धानलाई अगाडि बढाएको बोगटीको भनाइ छ ।
पक्राउ परेकाबाट प्रहरीले प्रहरीले ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंक गरी ६ वटा बैंकका ग्राहकको नक्कली चेक समेत बरामत गरेको छ ।
प्रहरीले गिरोहसँग साथै, विभिन्न व्यक्तिहरुको फोटो ८२५ थान, विभिन्न व्यक्तिहरुको नाममा रकम उल्लेख गरी गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैंकबाट व्यक्तिका नाममा जारी भएका ३२९ थान चेक र अन्य बैंकसँग सम्बन्धित विभिन्न कागजपत्र अन्दाजी २ बोरा बरामत गरेको छ ।
प्रहरीले विभिन्न व्यक्तिका नाममा जारी भएको एनआईसी एसियाको काटिएको ६८ थान चेक र ८२ थान एटीएम बरामत गरेको छ भने अन्य बैंकको ७ वटा एटीएम बरामत गरेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकको १७ थान नकाटिएको र २ थान काटिएको चेक, एभरेष्ट बैंकको २० थान नकाटिएको र ३ थान काटिएको चेक बरामत गरेको छ ।
साथै, जनता बैंकको ४१ थान काटिएको र १६ थान नकाटिएको चेक, ज्योति विकास बैंकको एक थान चेक, मुक्तिनाथ विकास बैंकको ४१ थान काटिएको र एकथान नकाटिएको चेक बरामत गरेको छ ।
गिरोहमा अधिकांश कलेज पढ्ने युवाहरु
प्रहरीका अनुसार गिरोहमा संलग्न अधिकांश प्लस टु तथा स्नातक तह अध्ययन गर्ने युवाहरु छन् । जसमध्ये गोविन्द घिमिरे सिनियर हो । उसैले कलेज पढ्ने केटाहरुलाई ठगी धन्दामा प्रवेश गराएको देखिन्छ ।
प्रहरीका अनुसार अधिकांशको उमेर १८ वर्षदेखि २२ वर्षसम्म छ । उनीहरुले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आफूहरुलाई पैसा अपुग भएकाले चोरी धन्दामा लागेको बताएका थिए ।
केही समय अगाडि चिनियाँ ह्याकरहरुले विभिन्न बैंकबो एटीएममार्फत् ३ करोड रुपैयाँभन्दा धेरै चोरी गरेका थिए । उक्त घटना सेलाउन नपाउँदै कृषि विकास बैंकबाट समेत ठूलो धनराशी चोरेको घटना सार्वजनिक भएको थियो ।
त्यसलगत्तै नक्कली हस्ताक्षर गरी बैंकमा पैसा चोरेको घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार नेपालमा मात्रै नभइ विश्व परिप्रेक्षमा हेर्दा गिरोहहरु ठूलो आर्थिक चलखेलमा लागेको देखिएको छ । जसको प्रभाव नेपालमा पनि देखिएको डीएसपी बोगटीको भनाइ छ ।
उनले अनुसन्धानका लागि राष्ट्र बैंकमार्फत् सबै बैंकलाई सुक्ष्म अध्ययन गर्न र अनुसन्धानमा सहयोग गर्न निर्देशन समेत दिइसकेको जानकारी दिए । उनका अनुसार कतिपय अवस्थामा बैंकबाट हुने ठगीलाई बैंक आफैले गुडविलका खातिर बाहिर नल्याउने गरेको समेत बताए ।
‘बैंकहरुले गुडविल बचाउनका लागि यस्ता घटना बाहिर नल्याएका कारण त्यस्ता ठगहरुले प्रशय पाएको बताउँदै त्यसबारेमा समेत अनुसन्धानलाई अगाडि बढाइएको छ’ बोगटीले भने ।
उनका अनुसार यस्ता घटना रोक्नका लागि बैंकलाई उच्चस्तरीय प्रविधि र निगरानी बढाउनु पर्ने सुझाव दिएको बताए ।