प्रहरीका नाममा फोन गरेर यसरी लुटियो जनता बैंकबाट २० लाख, ठूलो गिरोहको आंशका



काठमाडौं । गत आइतबार ११ बजेतिर व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा एउटा फोन आउँछ ।

फोन गर्नेले राजबाहकलाई भन्छ, ‘म नेपाल प्रहरीबाट बोल्दैछु, तपाईको मोबाइल ह्याक भएको सूचना हामीलाई आएको छ, हामी अनुसन्धान गर्दछौं त्यसका लागि मोबाइल अफ गर्नुहोस् ।’

प्रहरीबाटै फोन आएको भन्ने विश्वासका आधारमा राजबाहकले आफ्नो मोबाइल अफ गर्छन् ।

एक घण्टापछि राजबाहकले सोही नम्बरमा आफ्नो अर्को मोबाइलबाट फोन गर्छन र सोध्छन्, ‘के मैले अब मोबाइल अन गर्दा हुन्छ ?’

उताबाट जवाफ आउँछ, ‘काम सकिएको छैन, अहिले मोबाइल अन नगर्नुहोस् ।’

त्यसपछि राजबाहकलाई शंका लाग्छ र उनी तत्कालै महानगरीय प्रहरी वृत महाराजगञ्ज पुग्छन् ।

गोपालमान राजबाहकको खाताबाट पैसा निकाल्नेले गरेको नक्कली हस्ताक्षर
गोपालमान राजबाहकको खाताबाट पैसा निकाल्नेले गरेको नक्कली हस्ताक्षर

प्रहरीलाई राजबाहकले केही घण्टा पहिले प्रहरीको नाममा फोन आएको भन्दै सम्पूर्ण जानकारी गराउँछन् । यो कुरा सुनेपछि महाराजगञ्ज प्रहरी वृतका ड्युटीमा रहेका प्रहरी अचम्ममा पर्छन् । ती प्रहरीले माथिल्लो तहमा खबर गर्छन् ।

त्यसपछि प्रहरीले राजबाहकलाई भन्छ, ‘प्रहरीले कसैलाई पनि यसरी फोन गर्दैन, हामीलाई यसबारेमा केही जानकारी छैन ।’ र, प्रहरीले राजबाहकलाई तत्कालै मोबाइल अन गर्न भन्छ ।

प्रहरीकै अगाडि मोबाइल अन गर्दा राजबाहकको मोबाइलमा जनता बैंकको एसएमएस अलर्टबाट तीन वटा लगातार म्यासेज आउँछ ।

जसमा तीन पटकमा उनको जनता बैंकमा रहेको उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालिएको जानकारी हुन्छ । त्यसपछि मात्रै यो प्रहरीबाट भनेर गरिएको फर्जी कलबारे थाहा हुन्छ ।

राजबाहकले आफ्नो खाताबाट कसैले पैसा निकाल्का लागि आफूलाई फोन गरी मोबाइल अफ गर्न भनेको थाहा पाउँछन् । प्रहरीले त्यहीबाटै जनता बैंकमा फोन गरी राजबाहकको खाता रोक्का गर्न आग्रह गर्छ र कोही चेक लिएर आएमा प्रहरीलाई खबर गर्न भन्छ ।

प्रहरीले अनुसन्धान गर्दा बैंकमा ५ लाख रुपैयाँका २ वटा चेक र ९ लाख ९९ हजार रुपैयाँको एउटा चेकमार्फत् उक्त रकम निकालिएको थाहा हुन्छ ।

एउटा ५ लाख रुपैयाँको चेक अनिल कार्कीको नाममा काटिएको हुन्छ ।

त्यस्तै, तेजबहादुर भुजेलका नाममा काटिएको ९ लाख ९९ हजार रुपैयाँको चेक जनता बैंकमै रहेको तेजबहादुर भुजेलकै नामकै खातामा डिपोजिट हुन्छ । त्यसपछि भुजेलको खाताबाट नगद निकालिएको हुन्छ ।

आइतबार प्रहरीको अनुसन्धानले यति पत्ता लगाइसकेपछि सोमबार पनि फेरि बैंकमै आउने आशामा प्रहरी निगरानीमा बस्छ ।

प्रहरीको अनुमानलाई सही सावित गर्दै सोमबार दिउँसो जनता बैंकको न्यूरोडस्थित शाखामा गोपाल राजबाहकको चेक लिएर गिरोहका २ जनाले १ लाख र ४ लाख रुपैयाँको गरी ५ लाख रुपैयाँको चेक लिएर सटहीका लागि पुग्छन् ।

एक जना बाहिर बस्छ भने अर्को एक जना बैंकमा चेक साट्न पुग्छ । बैंकले तत्कालै प्रहरीलाई खबर गर्छ र २ जना पक्राउ पर्छन् । अनुसन्धानका क्रममा थप ४ जनालाई प्रहरीले पक्राउ गर्छ ।

यसरी भयो चोरी
घर जग्गा व्यवसायमा संलग्न युवा व्यापारी राजबाहकको खातामा ४ करोड रुपैयाँभन्दा बढी रकम हुन्छ ।

उक्त खातामा ठूलो मात्रामा रकम भएको सुइको पाएको गिरोहले झण्डै डेढ साता अघि राजबाहकको नक्कली हस्ताक्षर भएको निवदेन दिएर चेक बनाउन गौरव कार्की नाम गरेको व्यक्तीलाई पठाउँछ ।

बैंकले हस्ताक्षर भेरिफाइ गर्दा दुरुस्तै मिलेपछि बैंकले चेक कार्कीलाई दिन्छ ।

चेक बुझ्ने मानिसले गौरव कार्कीको नागरिकताको प्रतिलिपि बैंकमा बुझाएको हुन्छ । यद्यपि उक्त व्यक्ती गौरव कार्की नै हुन् वा होइनन भने यकिन छैन ।

राजबाहकको नक्कल हस्ताक्षर गर्न निकै सहज देखिन्छ । उनले चेकमा ‘गोपाल’ मात्रै लेखका हुन्छन् । राजबाहकले पहिले गरेको कारोबार र चेकमा नक्कली हस्ताक्षर छुट्याउन बैंकका कर्मचारीले मेसो पाउँदैनन् । र, चेकमा उल्लेखित रकम भुक्तानी हुन्छ ।

गिरोहको ठगी धन्दा
सोमबार पक्राउ परेका ६ जनालाई प्रहरीले अनुसन्धान गर्दा करिब ३ सय वटा विभिन्न व्यक्तीका नागरिकताको प्रतिलिपि, विभिन्न बैंकमा खाता रहेका २०० जना जतिको स्टेटमेन्ट, विभिन्न बैंकका १६ थान चेक बुक फेला पारेको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी र अनुसन्धानलाई सहयोग गरिरहेका राष्ट्र बैंक र बैंकहरुको टोली यसमा क–कस्तो संलग्नता छ भन्नेमा अनुमान गर्न सकिरहेका छैनन् ।

प्रहरीले यसमा बैंकका कर्मचारीको समेत संलग्नताको आशंकामा अनुसन्धानलाई अगाडि बढाएको छ । बैंकहरुले पनि आफ्नै कर्मचारी, राजबाहक नजिककै मान्छे वा अन्य गिरोह हुन सक्नेमा अनुसन्धान गरिरहेको छन् ।


क्लिकमान्डु