रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो



काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पैसा पठाउन छाडेपछि विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो ।

सार्वजनिक तथ्यांक समिक्षा अवधिमा अनुसार नेपालबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ३.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । साथै पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

यस्तै अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई रु.२६० अर्ब ७७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो ।


पुष्प दुलाल