२३ वाणिज्य बैंकले गरे सेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये २३ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

। लाभाशंको घोषणा गरेका बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, मेगा र सिभिल बैंकले लगानीकर्तालाई बोनस नदिई नगद लाभांशमात्रै दिने घोषणा गरेका छन् । बाँकी २० वटा बैंकले भने बोनस र नगद लाभांश दुबै दिने घोषणा गरेका छन् ।

केही बैंकले भने साधारणसभा गरेर लाभांश वितरण नै गरिसकेका छन् । तर, अहिलेसम्म पनि एनसीसी, कृषि, प्राइम र सेन्चुरी बैंकले लाभांश घोषणा गरेका छैनन् ।

लाभांशको घोषणा गर्नेमध्ये सबै भन्दा बढी एनएमबी बैंक रहेको छ ।

एनएमबी बैंकले ३५ प्रतिशत लाभांशको घोषणा गरेको छ । जसमा बोनस २१ र नगद १४ प्रतिशत रहेको छ । अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी बोसनको घोषणा गर्ने बैंकमा एनएमबी रहेको छ ।

यस्तै नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १२ र नगद २२ प्रतिशत रहेको छ ।

बैंकहरुले बोनसको लागि मात्रै १७ अर्ब ९९ करोड ५९ लाख २१ हजार ३५७ रुपैयाँ खर्चिने भएका छन् । बैंकहरुले बोनसमा भन्दा नगदमा १९.०५ प्रतिशत बढी खर्चिने भएका हुन् ।

अर्थात् बैंकहरुले नगद लाभांश २२ अर्ब २३ करोड १४ लाख ९६ हजार १०८ रुपैयाँ दिने भएका हुन् । वितरित लाभंश मध्येमा बैंकहरुले बोनस भन्दा नगद ४ अर्ब २३ करोड ५५ लाख ७४ हजार ७५१ रुपैयाँ बढी छुट्याएका छन् ।

२३ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ खर्ब ६ अर्ब ९३ करोड ४६ लाख ६५ हजार ५५५ रुपैयाँ रहेको छ । बैंकहरुको बोनस वितरणपछिको चुक्ता पुँजी २ खर्ब २४ अर्ब ९३ करोड ५ लाख ८६ हजार ९१२ रुपैयाँ पुग्ने छ ।

 


पुष्प दुलाल