फेरि पनि बैंकहरुलाई पुँजी बढाउन दबाबः मिशन २० अर्ब



काठमाडौं । डा. चिरञ्जिवी नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर हुनुअघि वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी २ अर्ब रुपैयाँ थियो । डा. नेपाल गभर्नर भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी ४ गुणा बढाएर ८ अर्ब रुपैयाँ पुर्यायो ।

त्यो बेला धेरैले एकै पटक ४ गुणा पुँजी बढाउनु हुँदैन भनेर गभर्नर डा. नेपालको व्यक्तिगत र उनले लिएको नीतिको तीब्र आलोचना भयो । संसदीय कठघरामा गभर्नरलाई धेरैपटक उभ्याइयो पनि ।

तर, राष्ट्र बैंकको नेतृत्व आफूले लिएको नीतिमा दृढ भएर अघि बढ्यो । कहीँकतै बिचलित भएन । अन्ततः सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन् ।

पुँजीको आधार बलियो नभई नहुने रहेछ भनेर अहिले बैंकहरु राष्ट्र बैंकले तोकेको भन्दा दोब्बर पुँजी पुर्याउन लागि परेका छन् । त्यो हो- मिशन २० अर्ब ।

गभर्नर डा. नेपाल ठूला बैंकहरुलाई मर्जरमा जान पटक-पटक निर्देशन दिइसकेका छन् । तर, अर्थमन्त्री युवराज खतिवडाले बिग मर्जरमा साथ नदिएका कारण राष्ट्र बैंकले सोचेजसरी काम भने गर्न सकेको छैन ।

तर, बैंकका सञ्चालक र सीइओहरुलाई बोलाएर राष्ट्र बैंकले आपसमा मर्ज हुन निरन्तर दबाब दिन भने छाडेको छैन । बजारमा क्रमशः त्यसको प्रभाव देखिन थालिसकेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले नेपालको अर्थतन्त्रको आकार अनुसार १४/१५ वटा बैंक भए पुग्ने बताउँदै आएका छन् । जसअनुसार राष्ट्र बैंक मिशन १४/१४ मा लागेका छ भने बैंकहरु मिशन २० अर्बमा लागेका छन् ।

बिग मर्जरको मुख्य उद्देश्य पनि बैंकहरुको पुँजीको आकार ठूलो होस् र ठूलो जोखिम बहन गर्न सकुन् भन्ने नै हो ।

‘अबको चुनौति भनेको टेक्नोलोनी हो, सानो पुँजी भएका बैंकले टेक्नोलोजीमा ठूलो लगानी गर्न सक्दैनन्, २/४ वटा बैंक गाभिएर ठूलो भए भने उनीहरुले प्रतिस्पर्धी विश्व बजारअनुसारको टेक्नोलोजी प्रयोग गर्न सक्छन्,’ गभर्नर डा. नेपालले बारम्बार भन्दै आएका छन् ‘टेक्नोलोजीमा गरिएको लगानीले बैंकलाई बलियो बनाउँछ, बैंक बलियो भएको देशमा वित्तीय स्थायित्व संभव छ ।’

राष्ट्र बैंकको तीब्र दबाबपछि एकाध बैंक मर्जरमा गइसके भने केही बैंक जाने तयारीमा छन् । अर्कोतर्फ अधिकांश बैंक पुँजी बढाउन केन्द्रित भएका छन् । अहिले नै केही बैंकको पुँजी २० अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ ।

ग्लोबल आइएमइ र जनता मर्ज भई एकीकृत कारोबार गर्ने अन्तिम चरणमा छन् । त्यस्तै, प्राइम बैंकले कैलाश विकास बैंक र मेगा बैंकले गण्डकी विकास बैंक गाभ्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेर केही समयअघि मात्रै एकीकृत कारोबार गरिसकेको छ ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले सेयर लगानीकर्तालाई गत आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य नाफाबाट १२.७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ हजार ७९० रुपैयाँ पुग्ने छ ।

यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । बैंकले गत आवको वितरणयोग्य नाफाबाट ६ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ । बैंकको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ ।

दुवै बैंक एक भएपछि बन्ने ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ । साथै अन्य सूचकहरुम पनि नम्बर वान हुनेछ ।

त्यसैगरी, अहिले प्राइम बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ छ । यस्तै कैलाश विकास बैंंकको २ अर्ब ५२ करोड ६ लाख रुपैयाँ छ । दुबै बैंकको पुँजी जोड्दा साढे ११ अर्ब रुपैयाँ पुग्नेछ ।

अहिलेसम्म प्राइम बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई दिने लाभांशको घोषणा भएको छैन । लाभांशमा बोनस दिएको खण्डमा चुक्ता पुँजी बढ्ने छ ।

गत आर्थिक वर्षको लाभांश घोषणा गरेपछिको बैंकहरुको पुँजी बढेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट बैंकको १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५६ रुपैयाँ रहेको छ । यस्तै एनएमबी बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ४६६ रुपैयाँ, नबिल बैंकको १० अर्ब ८९ करोड २५ लाख ६९ हजार ४ सय रुपैयाँ छ ।

यी बैंकहरुमा इन्भेष्टमेन्टले १०.५, एनएमबीले २१ नबिल बैंकले १२ प्रतिशत बोनस दिने घोषणा गरेका छन् ।

२८ वटा बाणिज्य बैंक मध्ये ४ वटा बैंकले अझै पनि लाभांश घोषणा गरिसकेका छैनन् । लाभांश घोषणा नगर्नेमा राष्ट्रिय बाणिज्य बैंक, एनसिसि, कृषि विकास र प्राइम बैंक रहेका छन् ।

लाभांश घोषणा गर्न बाँकी रहेका ४ वटा बाहेक २४ वटा बैंकले १७ अर्ब १९ करोड ५९ लाख २१ हजार ३५७ रुपैयाँको बोनस सेयर दिने भएका छन् । यस्तै बोनस भन्दा बैंकहरुले यो पटक नगदमा बढी जोड दिएका छन् ।

नगदकै लागि भनेर २२ अर्ब २३ करोड रुपैयाँ सेयरधनीलाई दिएका छन् ।

अहिलेसम्म २४ वटा बैंकको चुक्ता पुँजी २ खर्ब ६ अर्ब ९३ करोड ४६ लाख ६५ हजार ५५५ रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकहरुको चुक्ता पुँजी २ खर्ब २४ अर्ब १३ करोड ५ लाख ८६ हजार ९१२ रुपैयाँ पुग्ने छ । बाँकी रहेका ४ वटै बैंकको जोडदा यो रकम बढ्ने छ ।

ग्लोबल र जनता बैंकको मर्जरले बैंकहरुलाई ठूलो आकारको व्यवसाय गर्न दवाव दिएको छ ।

‘अब ठूलो आकारमा व्यवसाय नगरी बैंक संचालन गर्न नसक्ने स्थिती आएको छ, मर्जरमा गएर भएपनि व्यवसायको आकार बढाउनुपर्ने छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

ग्लोबल र जनताको मर्जरपछि धेरै बैंकलाई मर्जरमा जानको लागि दवाव हुने छ । जसले गर्दा बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ हुने छ ।


क्लिकमान्डु