प्रवेश शुल्क महंगो भएपछि उपल्लो मुस्ताङमा पर्यटक जान छाडे, होटेल व्यवसाय धरापमा

रासस २०७६ कार्तिक १४ गते १४:२२ मा प्रकाशित

मुस्ताङ। सडक र महँगो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ। नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन।

पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन्। चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ। दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा करोडौं खर्चेर सुविधासम्पन्न होटल खोल्ने क्रम बढे पनि महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण पर्यटन व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी रामबहादुर गुरुङले गुनासो गरे। दुई गाउँपालिकामा ३० लाखदेखि २० करोडसम्म लगानीमा दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करीब ५० रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन्। नयाँ होटल थपिने क्रम बढ्दो छ। बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढे पनि नियमित छैन।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङका अनुसार सन् २०१६, २०१७ र २०१८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका छन्। सन् २०१९ मा पनि गत वर्षकै हाराहारीमा आएका छन्। पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा प्राथमिकता दिएको एक्याप लोमान्थाङका निमित्त प्रमुख श्रीकृष्ण न्यौपानेले बताए। सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गर्दा पहिलो वर्ष ४८३ पर्यटक आएका थिए।

सन् २००७ सम्म प्रतिदिन ७० डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकामा शुल्क घटाएपछि बढेका थिए। कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हुन्।

उपल्लो मुस्ताङको पर्यटन विकासका लागि शुल्क समायोजन, नयाँ गन्तव्य र पदमार्गको पहिचान, अनुमति लिने प्रक्रियालाई सरलीकरण, स्वदेशीलाई आकर्षित गर्ने र प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स