अर्थमन्त्री खतिवडा भन्छन्- अर्को वर्ष डुइङ विजनेश इन्डेक्समा नेपाल ८० स्थानमा उक्लिन्छ (भिडियो)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार आउनुमा सरकारले गरेका कामहरुले सकारात्मक भूमिका खेलेको बताएका छन् ।

वल्र्ड बैंकले आयोजना गरेका कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अर्को वर्षसम्ममा करसम्वन्धि रहेका सबै दुविधा हटाउने र डुइङ विजनेशमा सुधार गरि सकेसम्म ८० स्थानमा उक्लिने र कम्तिमा ९० भन्दा तल झार्ने गरी काम गर्ने बताए ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडालाई ठूलो सफलता, डुइङ बिजेशन इन्डेक्समा नेपालले गर्यो सुधार

विश्व बैंकले हालै प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपालको स्थान यो वर्ष ९४ स्थानमा उक्लेको छ ।

अघिल्लो वर्ष नेपालको स्थान १०६ बाट ११० मा पुगेपछि अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका थिए । तर, अहिले सुधार आएपछि खतिवडा निकै उत्साहित देखिएका छन् ।

मुलुकमा संघियता आएपछि संरचना निर्माणका कारण डुइङ विजनेशमा निकै ठुलो नकरात्मक संकेत देखिने आंकलनका बाबजुुद यो पक्षमा सुधार हुनु धेरै राम्रो भएको खतिवडाले बताए । यसमा सरकारले नियम कानुनमा गरेका विभिन्न निर्णयहरुले सकारात्मक भूमिका खेलेको उनको दाबी छ ।

सम्पत्ती हस्तान्तरण, कम्पनी ऐन लगायत विभिन्न कुरामा सुधार गरिएको र अझै धेरै कुरा सुधारका क्रमममा रहेको समेत उनले प्रष्ट पारे ।

स्कुल पढ्दा जतिधेरै मिहिनेत गरेपनि मिहिनेत भन्दा नतिजालाई ख्याल गरिने र नतिजा राम्रो नआए ब्याकबेञ्चरको रुपमा चिनिने उदाहरण बताउँदै उनले भने- ‘डुइङ विजनेशमा सुधार आउनुमा सबै साथीहरुको भूमिका छ, यसलाई थप सुधार गर्ने गरी सबै मिलेर काम गर्नेछौं ।’

देशको समग्र आर्थिक विकासका लागि निजी क्षेत्र खुशी हुनुपर्ने भएकाले त्यसलाई मध्यनजर गरी उत्पादन र व्यापारमा सरकारले थप सहजीकरण गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

डिजिटल प्रविधिका माध्यम कर प्रणालीलाई थप सजिलो बनाउने र निर्यात गर्दा कम्तिमा ४० जनाको हस्ताक्षर चाँहिने जस्ता विभिन्न झन्झटलाई सरकारले यथासिघ्र समाधान गर्ने समेत उनले प्रष्ट पारे ।


पुष्प दुलाल