तिहारमा विद्युतको माग १३ सय मेगावाट, प्राधिकरण भन्छ- ढुक्कले विजुली बाल्नुहोस्



काठमाडौं । यसवर्षको तिहारमा १ हजार ३०० मेगावाट बराबरको विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ ।

गतवर्ष जस्तै विद्युत मागअनुसार नै व्यवस्थापनका लागि प्राधिकरणले आवश्यक तयारी गरेको जनाएको छ ।

तिहारमा विद्युत माग व्यवस्थापनका लागि प्राधिकरणले सव–स्टेसन तथा अन्य संरचनालाई पनि मर्मत सम्भार गरी तन्दुरुस्त हालतमा राखेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहलाई समेत सोही अवस्थामा राख्न ध्यानाकर्षण गराइसकेको छ ।

बत्ती नै बत्तीको पर्वका रुपमा रहेको तिहारमा कुनै पनि घरमा विद्युत नकाटियोस भनेर विशेष ध्यान दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसपटक भारतबाट नियमित रुपमा आइरहेको बाहेक थप विद्युत जरुरी नपर्ने बताएको छ ।

मनसुन लामो समयसम्म रहेका कारण नदीमा जल सतह नघटेका कारण विद्युत आयोजनाबाट विद्युत उत्पादनमा कमी नआएको उल्लेख गर्दै आन्तरिक रुपमा नै विद्युत व्यवस्थापन गर्ने सोचमा प्राधिकरण रहेको छ ।

प्राधिकरण अनुसार हाल प्राधिरणको आफ्नै उत्पादन ९ हजार ७७६ मेगावाट घण्टा विद्युत उत्पादन रहेको छ । यस्तै निजी क्षेत्रबाट १० हजार ७७१ मेगावाट घण्टा विद्युत उपलब्ध रहेको छ ।

त्यस्तै भारतबाट २ हजार ५०२ मेगावाट घण्टा विद्युत आयात भइरहेको छ । हाल ट्रिपिङलगायतको समसया भने नरहेको पाइएको छ । प्राधिकरणको प्रणालीमा कूल २३ हजार ४९ मेगावाट घण्टा रहेको छ ।

तिहारको समयमा ठूलो मात्रामा विद्युत् खपत गर्ने उद्योग तथा प्रतिष्ठान समेत बन्द हुने भएकाले घरायसी प्रयोगका लागि सोही विद्युत समेत उपलब्ध हुने प्राधिकरणको भनाइ छ ।

यस्तै हाल नियमित रुपमा विद्युत उत्पादन भए पनि कुलेखानी जलविद्युत आयोजनाको विद्युत भारत निकासी भइरहेको छ । कुलेखानीको कूल १०६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोले हालै मात्र १४ मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । कुलेखानी जलाशयको पानी भरिएको अवस्थामा प्राधिकरणले सो आयोजना समेत नियमित रुपमा चलाइरहेको छ । भारतबाट विशेष गरी ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट असाध्यै कम मात्रामा १०० मेगावाटको हाराहारीमा मात्रै विद्युत आयात भइरहेको छ ।

प्राधिकरणका अनुसार सबै आयोजना समेत पूर्ण क्षमतामा चल्ने भएकाले विद्युत माग व्यवस्थापनका लागि कुनै समस्या नपर्ने देखिएको छ । आवश्यक भएको खण्डमा मात्रै भारतबाट विद्युत् आयात गर्ने योजनामा प्राधिकरण छ ।

‘सकेसम्म आन्तरिक रुपमा नै माग व्यवस्थापन गर्न प्रयास गर्छौ, भएन भने मात्रै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट माग अनुसार विद्युत आयात हुन्छ’ प्राधिकरणको भार प्रेषण केन्द्रका एक प्राविधिकले भने ।

त्यसो त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा प्राधिकरणका कुनै पनि निकायका कर्मचारीले जिम्मेवारी पन्छाएर बिदा नबस्न समेत मातहतका कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

राजधानी काठमाडौंलगायत प्रमुख शहरमा विद्युत व्यवस्थापनका लागि जगेडा कर्मचारी समेत राख्ने र समस्या आएको एकाध मिनेटभित्रै पुग्ने गरी व्यवस्थापन गरिएको छ ।


क्लिकमान्डु