एनआरएनसँग मिलेर गाँउपालिकाले ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने




काठमाडौं । पछिल्लो दिनमा स्थानीय निकाय डोजर किन्ने तथा आफूखुसी अन्य काममा लागेको भन्ने जस्ता आरोप लागिरहेको बेला खोटाङको एक स्थानीय तहले भने गैरआवासीय नेपालीसँग मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । कूल ४ मेगावाट क्षमताको सो आयोजनामा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आयोजनाको कूल लागतको १० प्रतिशत रकम लगानी गर्ने भएको छ ।

आयोजनाको नाम भने तल्लो मध्यरावा खोला छ ।

आयोजनामा संलग्नहरुका अनुसार गाँउपालिकाले कूल २ करोड ५० लाख लगानी गर्ने भएको छ । आइतबार आयोजना निर्माण गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको कूल लागतमध्ये बाँकी रहेको रकम गैर आवासीय नेपाली तथा अन्य लगानीकर्ताले लगानी गर्ने बताएका छन् ।

आयोजनाको सम्पूर्ण तयारीको काम समेत भइसकेको छ । अध्ययन समेत भइसकेको र छिट्टै निर्माण प्रक्रियामा जाने तयारी छ ।

आयोजना निर्माण हुने खबरले स्थानीयबासी समेत खुसी भएका छन् । यसअघि सिन्धुलीको एक स्थानीय तहले समेत जलविद्युत आयोजनामा लगानी गर्ने घोषणा गरेको थियो ।

सरकारले प्रस्ताव गरेको नयाँ विद्युत ऐनमा समेत साना आयोजनाको अनुमतिपत्र तथा निर्माणको संयोजन स्थानीय तहले गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी सो विधेयक छलफलको चरणमा नै छ ।


क्लिकमान्डु