प्राधिकरणबाट थानीले दिए राजीनामा, के होला पुनरावलोकन समितिको भविष्य ?




काठमाडौं । उच्च अदालत पाटन र बुटवलले धमाधम उद्योगीको विपक्षमा फैसला गरेपछि नेपाल विद्युत प्राधिकरणले तय गरेको महसुल तिर्न उद्योगीहरु बाध्य भएका छन् ।

यद्यपि प्राधिकरणको पुनरावलोकन समितिमा सो विषयमा छलफल गरी उपयुक्त निर्णय गर्न अदालतले मार्ग प्रशस्त गरेको छ ।

आजै ५ उद्योगको मुद्दाका सम्बन्धमा वीरगञ्ज उच्च अदालतमा बहस हुँदैछ । अदालतले धमाधम प्राधिकरणको पुनरावलोकन समितिलाई नै निर्णयको अधिकार दिँदै फैसला गर्न थालेको सन्दर्भमा प्राधिकरणको उक्त समितिका संयोजक समेत रहेका सञ्चालक समिति सदस्य उमेश प्रसाद थानीले आइतबार अकस्मात राजीनामा दिएका छन् ।

तत्कालित उर्जामन्त्री जनादर्न शर्माले प्राधिकरण सञ्चालक समितिको सदस्यमा थानीलाई नियुक्त गरेका थिए । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेशराज काफ्ले हटाउनु अघि तत्कालिन संयुक्त सरकारको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह बमोजिम थानी सञ्चालक सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए ।

प्राधिकरणको समग्र सुधारका पक्षमा कडा अडान राख्ने र सुधारका कामलाई प्रमुख प्राथमिकतामा राखी जिम्मेवारी समेत लिइ क्षमता भएका थानीको अकस्मात राजीनामापछि उद्योगीको सम्बन्धमा देखिएको महसुल विवादले कसरी निकास पाउँला भन्ने चासो सर्वत्र देखिएको छ ।

थानीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्य पदबाट मैले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराउँदछु, धन्यवाद ।’

अदालतले हालसम्म १६ वटा उद्योगले दर्ता गरेका रिट निवेदन खारेज गरी नियमानुसार गर्नु भन्दै फैसला सुनाएको छ ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको इजलासमा रहेको उद्योगीको मुद्दा समेत नियमानुसार गर्नु भन्ने फैसला आएको थियो । सोही आधारमा आज उच्च अदालत वीरगञ्जमा ५ उद्योगको सुनुवाई हुँदैछ ।

तर पुनरावलोकन समितिका संयोजकको राजीनामापछि त्यसले पार्ने प्रभाव के कस्तो रहन्छ भन्ने बारेमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले थप प्रष्ट पार्लान नै । तर थानीको राजीनामासँगै र अदालतको आदेशलाई कार्यान्वयन गर्ने उपायको खोजी होला नै ।

उद्योगीहरुले भने प्राधिकरणले आफूहरु माथि महसुलको नाममा अन्याय गरेको दाबी गर्दै आएका छन् । विशेष गरी ट्रंक र डेडिकेटेड लाइनको विवाद २०७२ सालदेखि नै रहँदै आएको छ ।

त्यसो त पछिल्लो समय थानी एभरेष्ट इन्जिनियरिङ कलेजलाई थप व्यवस्थित बनाउने भन्दै क्रियाशिल भएका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसनको पूर्व महासचिव समेत रहेका थानी आफ्नो क्षेत्रमा दक्ष र योग्य मानिन्छन् ।


क्लिकमान्डु