माछापुच्छ्रे बैंकमा जागिर खान कसरी गर्ने तयारी ? डेपुटी सीईओ कोइरालाको सुझाव (भिडियोसहित)



काठमाडौं । माछापुच्छ्रे बैंकले केही दिनअघि ११५ जना कर्मचारीका लागि आवेदन खुलाएको छ ।

बैंकद्वारा खुला गरिएको आवेदन र जुनियर ट्रेनिका लागि हो । जसमा २५ जना म्यानेजमेन्ट ट्रेनि र ९० जना जुनियर ट्रेनिको माग गरिएको छ ।

अहिले आवेदकहरुले धमाधम आवेदन दिइरहेको बैंकले जनाएको छ । आवेदकहरुले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

आवेदकले आवेदन दिइसकेपछि बैंकले उनीहरुलाई सर्टलिस्ट गर्छ । सर्टलिस्टमा परेकाहरुलाई बैंकले लिखित परीक्षाका लागि बोलाउँछ ।

लिखित परीक्षामा उत्तीर्ण हुनेलाई योग्यताका आधारमा अन्तरवार्तामा बोलाइन्छ । त्यसपछि अन्तर्वार्ता सकिएपछि अन्तर्वार्तामा प्राप्त गरेको अंक र लिखित परीक्षामा प्राप्त गरेको अंकका आधारमा योग्यताका आधारमा जागिर दिइन्छ ।

माछापुच्छ्रे बैंकमा जागिर खान सोर्सफोर्सले कुनै काम नगर्ने डेपुटी सीइओ कोइराला बताउँछन् ।

बैंकिङ क्षेत्रमा जागिर खानका लागि धेरैले व्यवस्थापन संकायमा शिक्षित र दीक्षित हुनु मात्रै पर्याप्त हुँदैन । माछापुच्छ्रे बैंकका डेपुटी सीईओ सन्तोष कोइराला मान्यताप्राप्त विश्वविद्यालयबाट उत्तीर्ण हुनुका साथै अन्य थुप्रै ज्ञान पनि चाहिने बताउँछन् ।

उनले आवेदकहरुलाई बजारका इन्स्च्यिुटका तयारी कक्षामा भन्दा पनि आफूहरुले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका पाठ्यक्रममै आधारित भएर तयारी गर्न सुझाव दिए ।

उनले भने, ‘बजारमा सञ्चालित इन्स्टिच्युटमा भर पर्नुभन्दा विश्वविद्यालयका पाठ्यक्रममा आधारित भएर अध्ययन गर्नु राम्रो हुन्छ ।’

बैंकले खुलाएको विज्ञापनका लागि बैंकिङ क्षेत्रको ज्ञान, सामान्य ज्ञान, लेखन कला, तार्किक क्षमता तथा स्ट्रेस ह्यान्डलिङको समेत परीक्षण हुने डेपुटी सीईओ कोइरालाले बताए ।

उनका अनुसार बैंकले परीक्षा जिम्याटको फर्म्याटमा लिन्छ । जसमा केही वस्तुगत तथा विषयगत प्रश्नहरु हुन्छ ।

वस्तुगत प्रश्नमा गणित, अंग्रेजी, अर्थशास्त्र, सामान्यज्ञानसँग सम्बन्धित प्रश्न सोधिन्छन् भने विषयगत प्रश्नहरुमा अर्थशास्त्र, बैंकिङ क्षेत्रसँग सम्बन्धित प्रश्नहरु बढी सोधिन्छन् ।

बैंकमा जागिर खानका लागि बैंकहरुले आ-आफ्नो संस्थाको आवश्यकता अनुसार सर्टलिस्ट गरी लिखित तथा मौखिक परीक्षा लिन्छन् भने छनोट भएकाहरुलाई सोही अनुसारले तालिम समेत दिन्छन् ।

माछापुच्छ्रे बैंकमा जागिर खान सोर्सफोर्सले कुनै काम नगर्ने कोइराला बताउँछन् ।

के भन्छन् त बैंकका डेपुटी सीईओ कोइराला हेर्नुस् भिडियोमा ।


क्लिकमान्डु