जलविद्युत कम्पनीका लगानीकर्ता चुर्लुम्मै, कहिले फर्केला विश्वास ?




काठमाडौं । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भए पनि पछिल्लो समय जलविद्युत आयोजनका साधारण सेयरमा लगानीकर्ताको कम आकर्षण देखिएको छ ।

असार अन्तिम सातादेखि साधारण सेयर बिक्री सुरु गरेको हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले तोके अनुसारको साधारण सेयर बिक्री गर्न सकेन । यस्तै, पछिल्लो पटक निष्काशन गरिएको शिवश्री हाइड्रो पावर लिमिटेडको समेत साधारण सेयर बिक्री हुन गाह्रो पर्यो ।

हिमाल दोलखाले सर्वसाधारणका लागि ३० करोड ९३ लाख २५ हजार कित्ता साधारण सेयर बिक्री गर्ने योजना थियो । उसले स्थानीयका लागि १ करोड २७ लाख ७९ हजार कित्ता सेयर बिक्रीको लक्ष्य राखेको थियो ।

तर स्थानीयबासी र आम सर्वसाधारणका लागि बिक्री गर्ने भनिएको सबै सेयर बिक्री हुन सकेन् । यसअघि ग्रिनलाइट हाइड्रोपावर, पाँचथर पावर र युनिभर्सल पावरको साधारण सेयर समेत बिक्री नभएर अन्डरराइटरले उठाउनु परेको थियो ।

कुनै समय जलविद्युत कम्पनीको सेयर भनेपछि आमलगानीकर्ताको बढ्ता चासो रहने गर्थ्यो ।

सरकारको लगानी समेत रहेको चिलिमे जलविद्युत कम्पनीको सेयरले आम लगानीकर्तालाई उत्साहित मात्रै गरेको थिएन, लगानीका लागि समेत प्रेरित गरेको थियो ।

तर पछिल्ला दिनमा लगातार आरालो लागेको सेयर बजार र जलविद्युत कम्पनीको कमजोर प्रतिफलका कारण लगानीकर्ता हच्किएका छन् । त्यसो त पछिल्ला दिनमा हाइड्रोलोजी लगायतको समस्या देखाएर निजी उर्जा उद्यमीहरुले २५ आयोजना रुग्ण भएको भन्दै सरकारी सहयोगको खोजीमा लागेका छन् ।

निजी उद्यमीले रुग्ण घोषणा गरेका ती आयोजनामध्ये ७ वटाले साधारण सेयर बिक्री गरिसकेका छन् । त्यसरी बिक्री गरिएको सेयरको मात्रा मात्रै करिब ५६ करोड रुपैयाँ बराबर छ ।

यस आधारमा हेर्दा आम सर्वसाधारणको लगानी समेत जोखिममा परेको छ । आकर्षक मानिएका चिलिमे, बुटवल पावर कम्पनी, अपी पावरलगायतका जलविद्युत कम्पनीको सेयर समेट घटेर न्यून मूल्यमा ओर्लिएका छन् ।

नेपाल स्टक एक्चेञ्जमा सूचिकृत भएका कुल ३२ जलविद्युतमध्ये १७ वटा कम्पनीको सेयर आधारभूत मूल्यभन्दा निकै कम छ । त्यसो त गत शुक्रबार मात्रै नेप्सेले १३ जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का गरिदिएको छ ।

नविकरण शुल्क नतिरेका कारण ती कम्पनी सहित कुल ८१ कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । नेप्सेमा आजको आइतबारको कारोबार अनुसार चिलिमे जलविद्युत कम्पनीको सेयर ४२३ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु