यी हुन् धितोपत्र बोर्डमा आउने नयाँ अध्यक्षका चुनौति



काठमाडौं । डा. रेवतबहादुर कार्की आफ्नो ४ वर्षे कार्यकाल सकेर नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिएका छन् । उनले आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।

कार्कीले आफ्नो कार्यकालमा गरेको र पुरा नभएको कामको पनि सार्वजनिक गरिदिए । ती काम पूरा गर्न आगामी अध्यक्षलाई दबाब परेको छ । कार्कीले गर्दागर्दै र अन्तिम चरणमा रहेका काममा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने रेहेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा चार जना, को बन्ला ?

यस्तै प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना गर्ने काम पनि बाँकी नै रहेको छ । बोर्डले आफ्नो नीति तथा कार्यक्रममा पनि यो कामलाई प्राथमिकतामा राखेको थियो । उक्त कार्यले लामो समयदेखि पूर्णता पाउन सकेको छैन ।

अर्थतन्त्रको आकार र वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तो बजार संचालन गराउने कार्यले पनि पूर्णता पाउन सकेको छैन । सम्भवत यो कार्य पनि आगामी अध्यक्षले मात्रै यो कामले पूर्णता पाउने सम्भावा रहेको चर्चा रहेको छ ।

यस्तै बोर्डको संस्थागत सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थ मन्त्रालय मार्पmत संसदमा प्रस्तुत भएको छ । यस विषयमा संसदिय अर्थ समितिमा छलफल हुने छ । छलफलका क्रममा त्यसमा थपघट हुन बाँकी छ । त्यो काम पनि बोर्डले नयाँ अध्यक्ष आएपछि नै बाँकी काम अघि बढने आंकलन गरिएको छ ।

कार्कीले तत्काल कार्यान्वयनका क्रममा रहेको काममा धितोपत्र व्यवसायी (ब्रोकर र मर्चेण्ट बैकिंग) नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा महत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन सरकार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको छ । यो कामले पनि सम्भवत नयाँ अध्यक्ष पर्खने भएको छ ।

मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नुका साथै धितोपत्र व्यवसायी गाभिने÷ प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट सेयर दोब्बर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि अपनाउने जस्ता काम पनि कार्यान्वयनको क्रममा रहेको छ ।

बोर्डका अनुसार स्थानीयले पाउने सेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्स्योरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ ।

यो काम पनि पाइपलाइनमा रहेको छ । बोर्डले भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थ मन्त्रालय स्वीकृतिका लागि पठाई सकिएको जनाएको छ । यी कामहरु बोर्डमा आउने अध्यक्षको लागि थाँती रहेको छ । बोर्डको अध्यक्ष कार्कीले काम गर्ने सन्दर्भमा निकै चुनौति पनि देखाएका छन् ।

कार्कीका अनुसार अर्थतन्त्र र पुँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीतिगत निर्णय भएको छ । यसै सन्दर्भमा नेप्सेको कर्पोरेट निजीकरण शुरुवातको साथै आधुनिक अर्को स्टक एक्स्चेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक वजारको विकास र विस्तार गर्ने, जसबाट आधुनिक सुविधा उपलव्ध भई दैनिक ५ अर्बको कारोवार हुनसक्ने उल्लेख गरेका छन् ।

कार्कीले देखेको चुनौतीमा ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने, अन्तर्राष्ट्रिय स्तरको धितोपत्र कारोबारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउने कार्यलाई पनि चुनौतीको रुपमा लिएका छन् ।

नियमन निकायसहित बजार सहभागीहरुको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती रहेको छ । अध्यक्षले कार्कीले देखेको चुनौती आगामी अध्यक्षको लागि पनि सहज चाँही नहुने देखिएको छ ।


पुष्प दुलाल