नेपालको विद्युत बंगलादेश पुर्याउने बाटो खुल्यो




काठमाडौं । नेपालमा उत्पादित हुने विद्युत सहज रुपमा बंगलादेश निर्यातका लागि मार्ग प्रशस्त भएको छ ।

गलबार भारतमा सम्पन्न नेपाल र भारतका उर्जा सचिवहरुको बैठकले विद्युत निर्यातका लागि त्रिदेशीय बैठक आगामी तीन महिनाभित्र आयोजना गरी नेपालको मागलाई सम्बोधन गर्ने निर्णय गरेका छन् ।

सोही निर्णयका आधारमा नेपालमा उत्पादित हुने विद्युत भारतीय भूमि हुँदै बंगलादेश निर्यातका लागि थप सहज हुने विश्वास लिइएको छ ।

बंगलादेशले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्ने नीतिगत निर्णय गरिसकेको छ । बंगलादेशले नेपालमा सरकारी वा निजी क्षेत्रसँग मिलेर विभिन्न जलाशययुक्त आयोजनामा लगानी गर्ने बचन समेत दिएका छन् ।

सोही आधारमा सरकारी स्वामित्वका कम्पनी र निजी क्षेत्रको समेत लगानीमा केही आयोजनाको पहिचान समेत गरिसकिएको छ । बंगलादेशी लगानीकर्ताहरु जुनसुकै स्तरमा समेत लगानीका लागि तयार देखिएका छन् ।

विशेष गरी भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट विद्युत खरिदका लागि समेत बंगलादेश तयार देखिएको छ ।

यद्यपि जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसक्दा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अगाडि बढ्न सकेको छैन । जीएमआरले विद्युत खरिदबिक्री सम्झौता नगर्दा वित्तीय व्यवस्थापन हुन सकेको छैन ।

केहीदिन पहिले जीएमआरले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूहरु केही समयभित्रै विद्युत खरिदबिक्री सम्झौता गरी वित्तीय व्यवस्थापन गर्ने जानकारी गराएको थियो ।

बंगलादेश विद्युत निर्यातका लागि भारतीय कम्पनी एनभीभीएनमार्फत् प्रक्रिया अगाडि बढाइएको जीएमआरको दाबी रहँदै आएको छ । यद्यपि निर्णय भने ठोस रुपमा भइसकेको छैन ।

उर्जा सचिवस्तरीय बैठकले विद्युत आदानप्रदानका लागि नेपाल, भारत र बंगलादेशको त्रिदेशीय साझेदारी र बैठक आयोजना गर्ने निर्णय गरेको र तीन महिनाभित्र त्यस विषयमा उपयुक्त निश्कर्ष निकाल्ने सहमति भारतीय पक्षबाट आएकाले नेपालको विद्युत बंगलादेश पुर्याउने सपना साकार हुने विश्वास लिइएको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार नेपालको विद्युत क्षेत्रीय बजारमा पुर्याउने सम्बन्धमा यसपटकको बैठकले ठोस निर्णय गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।


क्लिकमान्डु