राष्ट्रिय प्रणालीमा थपियो ४७ मेगावाट विद्युत, कुलेखानीको क्षमता बढेर १०६ मेगावाट पुग्यो




काठमाडौं । देशको विद्युत प्रणालीमा पछिल्लो एक सातामा मात्रै कूल ४७ मेगावाट विद्युत थप भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लामो समयदेखि क्रोनिक आयोजनाको रुपमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत उत्पादन सुरु गरेको छ ।

चिनियाँ प्राविधिक आएर सबै तयारी गरेपछि सोमबार साँझदेखि कुलेखानी तेस्रोको विद्युत् प्रणालीमा थप भएको हो ।

सो आयोजना सम्पन्न भएसँगै कुलेखानीको कूल जडित क्षमता १०६ मेगावाट पुगेको छ ।

यसअघि कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कूल १०६ मेगावाट विद्युत उत्पादन सुरु हुन थालेको हो ।

त्यसो त कुलेखानीको जलसतह बढेर निश्चित सीमाभन्दा माथि पुगेको छ । निरन्तरको वर्षा तथा जथलाधार क्षेत्रबाट नियमित रुपमा पानी थपिएपछि प्राधिकरणले नियमित रुपमा विद्युत उत्पादन गरी रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत् भारतको बिहारमा विद्युत निर्यात गरिरहेको छ ।

गत साउनदेखि नै प्राधिकरणले दैनिक ४५ मेगावाटको हाराहारीमा विद्युत निर्यात गरिरहेको छ ।

यस्तै निजी क्षेत्रका दुई आयोजना समेत निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु गरेका छन् । त्यसमा गुरु न्यौपानेलगायतको लगानी रहेको काबेली बी वानको पनि विद्युत उत्पादन सुरु भएको छ । सो आयोजनाबाट कूल २५ मेगावाट विद्युत थप भएको छ ।

पाँचथर र ताप्लेजुङको सीमानामा रहेको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको काबेली पावरका निर्देशक रमेश न्यौपाने जानकारी दिए । यस्तै दार्चुलामा आयोजना स्थल रहेको माथिल्लो नौगाड जलविद्युत आयोजनाले समेत विद्युत् उत्पादन सुरु गरेको छ । सो आयोजनाबाट कुल ८ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थप भएको हो ।


क्लिकमान्डु