नेपाल र भारतबीच थप २ हाइभोल्टेज प्रसारण लाइन बन्ने



काठमाडौं । नेपाल र भारतबीच विद्युत आदान प्रदानका लागि उच्च क्षमताका थप २ प्रसारण लाइन निर्माण हुने भएका छन् ।

नेपाल र भारतका ऊर्जा सचिवको सोमबारदेखि शुरु भएको बैठकमा ती प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

ऊर्जा सचिव स्तरीय बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेतृत्व गर्ने छन् ।

उनका अनुसार भविष्यमा विद्युत आदानप्रदानका लागि थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ लम्की–बरेली र दुहबी पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा समेत संयुक्त निर्देशक समितिको बैठकमा एजेण्डाका रुपमा नेपालले प्रस्ताव गरेको छ ।

ती प्रसारण लाइनसमेत ४०० केभी क्षमतामा निर्माण गर्ने तयारी छ । यस्तै ४०० केभी क्षमताकै न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निमाृणको मोडालिटीका बारेमा समेत सोमबारदेखि शुरु भएको बैठकमा सहमति हुने जनाइएको छ ।

यसअघि ४०० केभी क्षमताको ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको छ ।

सरकारले तय गरेको प्रसारण गुरुयोजनामा समेत ती प्रसारण लाइन विद्युत् आयात निर्यातका लागि महत्वपूर्ण रहेको उल्लेख छ । त्यस्तै बैठकमा टनकपुरबाट थप विद्युत् आयात गर्ने विषयमा समेत छलफल हुने प्रवक्ता अर्यालको भनाइ छ ।


क्लिकमान्डु