माथिल्लो भोटेकोशी आयोजनाको काम अन्तिम चरणमा पुग्यो




काठमाडौं । पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पीङकट्टीमा विद्युत् गृह रहेको सो आयोजनाको पुनःनिर्माणको कार्य हालसम्म ९० प्रतिशत काम सम्पन्न भई चाँडै नै विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।
हाल बाँधमा पानी भर्ने काम भइरहेको हँुदा तिहार अघि नै परीक्षण गरिने कार्यक्रम रहेकाले उत्पादित विद्युत् चाँडै नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी अधिकृत स्थापितको भनाइ छ । उक्त आयोजनाको पुनः निर्माण कार्यको लागि दुई वर्ष अघि रु सात अर्वमा चीनको सिनो हाइड्रो ब्यूरो ११ सँग सन् २०१९ को अन्त्यसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।
गत असार २१ गते राति चाकुखोलामा आएको बाढीले प्रसारण लाइनको पाँच वटा टावरमा क्षति पुगेको थियो । हाल त्यसको मर्मत कार्य भइरहेकाले दशैँअघि नै सम्पन्न गरिने बताइएको छ । उक्त आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगे पछि चार महीना बन्द भएको थियो । मर्मत पछि पुनः सञ्चालनमा आएलगत्तै २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि मर्मत कार्य हँुदै गर्दा २०७३ असार तेस्रो सातामा आएको भोटेकोशी बाढीले तहसनहस पारेपछि २०७४ सालमा पुनःनिर्माणको काम शुरु भएको हो ।

तातोपानीको १० किलोमा बाँध बाधेर ३।५ किमि सुरुङद्वारा फुल्पीङकट्टीे झिर्पुस्थित विद्युत् गृहमा पानी खसालिएको थियो । भूकम्प र बाढीले सुरुङ मार्ग र विद्युत् गृहबाहेक बाँध, पेनस्टक पाइप, प्रसारण लाइनको केही टावर तथा त्यहाँ जडित सम्पूर्ण मेशिनरी सामान तथा उपकरण समेतमा क्षति पुगेको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु