वेवसाइटबाट हटाइयो महराको नाम, राजीनामा स्वीकृत




काठमाडौं । बलत्कारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम संघीय संसद सचिवालयले हटाएको छ ।

विवादित विषयमा फसेपछि महराले मंगलबार राजीनामा दिएका थिए । उनले घुमाउरो भाषामा राजीनामा दिएका थिए ।

उनले मंगलबार उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा बुझाएका थिए । सोही आधारमा संघीय संसद सचिवालयले आज उनको नाम हटाएको हो । सचिवालयले सभामुखको नाम रहेको स्थानमा खाली राखेको छ भने उपसभामुखको नाम भने रहेको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट हटाइएको हो ।

महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।

उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।


क्लिकमान्डु