६९ अर्बको परियोजना सुरु हुँदै, नुवाकोटका १९३ जग्गाधनीलाई मुआब्जा लिन आग्रह




काठमाडौं । अमेरिकन सहयोगको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)को निर्माणाधिन ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने नुवाकोट जिल्लाका १९३ प्रभावितलाई मुआब्जा वितरण गरिने भएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्टले काठमाडौंको नांग्लेभारेदेखि सुरु भएर बुटवल हुँदै गोरखपुर जोड्ने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन परियोजनाको निर्माण सुरु गर्ने तयारी स्वरुप मुआब्जा वितरण गर्न लागिएको हो ।

नुवाकोटको साविक रातमाटे गाविसको वडा नम्बर ६ र ९ र हाल बेलगढी नगरपालिका ७ मा निर्माण हुने ४०० केभी क्षमताको सव–स्टेसन निर्माणका लागि मुआब्जा वितरण गर्न लागिएको हो ।

सूचना अनुसार नुवाकोटका ती स्थानका १९३ जग्गाधनीलाई मुआब्जा वितरण गरिनेछ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसनले उर्जा र भौतिक पूर्वाधार सडक सुधार आयोजना अन्तर्गत कुल ६९ अर्ब खर्च गर्ने योजना छ ।

यद्यपि मिलेनियम च्यालेन्ज कर्पोरेसनले गर्ने सहयोग सम्बन्धि सम्झौता पत्रमा नेपाल सरकारले गरेको प्रतिबद्धता संघीय संसदबाट अनुमोदन भएको छैन । एमसीए नेपालले आगामी असारदेखि सो आयोजना सुरु गर्ने जनाएको छ ।

केही समय अघि एमसीए नेपालले आयोजनाको फेहरिस्तका बारेमा जानकारी दिँदै आयोजना सुरु हुने र सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने बताएको थियो ।

सोही अनुसार नुवाकोटमा निर्माण हुने सव–स्टेसनका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको हो । जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ बमोजिम ती जग्गा स्थायी रुपले प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।

सूचना प्रकाशित मितिले ३५ दिनभित्र जग्गाधनीले घर, टहरा, रुख विरुवा, बालीनाली लगायत अन्य संरचना भए सो समेतको मुअब्जा दाबी गर्न आग्रह गरेको छ । सूचनामा आ–आफ्नो हकदैया र भोगचलन सम्बन्धि निस्सा तथा प्रमाण सहितको कागजात संलग्न गरी निवेदन दिन आग्रह गरेको छ ।

नेपालको प्रसारण प्रणालीमा रणनीतिक महत्व र हालसम्मकै सबैभन्दा ठूलो लगानीको आयोजना भएकाले पनि त्यसलाई विशेष प्राथमिकतामा राखिएको छ ।

पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा निर्माण भइरहेको ४०० केभी क्षमताकै लाइनलाई सहयोग गर्ने गरी सो आयोजना निर्माण हुन लागेको हो । विशेष गरी त्रिशुली करिडोर, बुढिगण्डकी करिडोर र मर्याङदी करिडोरमा निर्माण हुने र भइरहेका आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय खपतका साथै क्षेत्रीय बजारमा बिक्री वितरणका लागि समेत सो आयोजना सहयोगी हुने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको दाबी छ ।

त्यसो त नेपाल र भारतले समान लगानीमा न्यू बुटवल–गोरखपुर अन्तरदेशीय ४०० केभी क्षमताकै प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको छ । गत भदौको अन्तिम साता नेपाल भ्रमणमा आएका भारतीय उर्जा राज्यमन्त्री आरके सिंहले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको द्विपक्षीय छलफलका क्रममा समेत सो प्रसारण लाइन निर्माणको प्रक्रियामा देखिएका कमजोरी हटाइ निर्माण प्रक्रिया सुरु गर्न सहमति जनाएका थिए ।

सोही आधारमा यसै महिनाको अन्तिम साता हुने नेपाल र भारतका उर्जा सचिव स्तरीय बैठकले निर्माण मोडालिटीका बारेमा आवश्यक निर्णय गर्ने बताइएको छ ।


क्लिकमान्डु