५० चार्जिङ स्टेसनका लागि जग्गा खोज्दै कुलमान




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ५० स्थानमा विद्युतीय सवारी चार्जिङका लागि स्टेसन निर्माण गर्ने भएको छ । प्राधिकरणको उर्जा दक्षता एवम चुहावट नियन्त्रण विभागका अनुसार विद्युतीय सवारी साधन प्रबद्र्धनका लागि सो कार्य अगाडि बढाइएको हो ।

सरकारले पछिल्ला दिनमा विद्युतीय सवारीको उपयोगलाई प्रभावकारी रुपमा अगाडि बढाउने नीति तथा योजना अगाडि सारेपछि त्यसलाई कार्यान्वयन गर्ने महत्वपूर्ण निकायका रुपमा प्राधिकरण देखिएको छ ।

विद्युतीय परिवहनको प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्राधिकरणले विद्युतीय सवारी सधानको चार्जिङ स्टेसन निर्माणका लागि सार्वजनिक सूचनामार्फत् आग्रह गरेको हो ।

नेपालमा बजार लिँदै गरेका साना विद्युतीय सवारी जस्तै, कार, भ्यान आदिलाई सार्वजनिक डिसी बुस्ट चार्जिङमार्फत् दु्रत गतीमा चार्ज गर्ने संरचना निर्माणका लागि प्राधिकरणले पहल लिएको छ ।

त्यस्ता चार्जिङ स्टेसन निर्माणका लागि सवारी साधनको आगमन भइरहने नेपालका मुख्य मुख्य सहरभित्रका मूल सडक तथा मुख्य मुख्य राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट सिनेमा हल, पार्क, विश्वविद्यालय सरकारी निकाय होटल तथा रेष्टुराँ आदिका पार्किङ स्थल उपयुक्त हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सम्पूर्ण लागतमा जग्गाको उपलब्धता बाहेक निर्माण एवम सञ्चालन हुने चार्जिङ स्टेसन निर्माणका लागि कम्तीमा ३ वटासम्म विद्युतीय सवारी चार्जिङका लागि डेडिकेटेड पार्किङ स्थल निशुल्क उपलब्ध गराउन इच्छुक कुनै पनि संस्थाले ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गरी निवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

प्राप्त निवेदन अनुसार प्राविधिक, आर्थिक, भौगोलिक र अन्य आधारमा सम्भाव्यता अध्ययन गरी देशभर ५० उपयुक्त स्थानको छनोट गर्ने अधिकार प्राधिकरणमा निहित रहेको सूचनामा उल्लेख छ ।

सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरिदका लागि ३ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ । निजी क्षेत्रको सुन्दर यातायातले १ करोड ६२ लाख रुपैयाँ लागतका २ वटा विद्युतीय बसमार्फत् राजधानीको चक्रपथमा सेवा सुरु गरिसकेको छ ।


क्लिकमान्डु