कृषि विकास बैंक लुट प्रकरणः प्रहरीले ११ जनालाई पक्रियो, २ बजे सार्वजानिक गर्ने



काठमाडौं । कृषि विकास बैंक लुट प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाका अनुसार अहिलेसम्म प्रहरीले घटनामा संलग्न ११ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

‘पक्राउ परेका अभियुक्तहरुलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजानिक गर्दैछौं,’ थापाले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म ११ जना पक्राउ परेका छन्, बाँकी केही फरार छन्, उनीहरुको खोजी कार्य भइरहेको छ ।’

कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भयो

के कति रकम चोरी भएको हो भन्नेबारे यकिन भइनसकेको उनले जानकारी दिए । तर, बैंकले भने २ करोड रुपैयाँ चोरी भएको जनाएको छ ।

बैंककै कर्मचारीहरुको युजर नेम र पासवर्ड प्रयोग गरेर विभिन्न ७ व्यक्तिको खातामा भुक्तानी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘सफ्टवेर वा सिस्टम ह्याक भएर रकम चोरी भएको देखिँदैन,’ स्रोतले भन्यो, ‘कि त कर्मचारीले आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरेर चोरी गरेका हुनसक्छन्, कि त उनको पासवर्ड अरु कसैले चोरी गरेको हुनसक्छ ।’

तर, अहिलेसम्मको अध्ययनले कर्मचारीकै संलग्नता हनुसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । मंगलबार दिउँसो सिराहाको लाहानस्थित बैंकको शाखाबाट यो घटना भएको थियो । घटना घटेको थाहा पाउनेवित्तिकै बैंक व्यवस्थापनले केन्द्रिय कार्यालयबाट ३ जनाको टोली पठाएर अनुसन्धान गरिरहेको छ ।

‘सर्वसाधारणको रकम चोरी भएको छैन,’ स्रोतले भन्यो ।


पुष्प दुलाल