देशको भुक्तानी सन्तुलन ६ अर्बले बचतमा, विदेशी मुद्रा संचिति भने घट्यो



काठमाडौं । १३ महिनापछि पहिलोपटक देशको भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नाम प्रतिवेदनअनुसार ०७६ साउन महिनामा ६ अर्ब ५ करोड रुपैयाले भुक्तानी सन्तुलन बचतमा रहेको उल्लेख गरेको छ ।

‘१३ महिनापछि भुक्तानी सन्तुलन बचतमा आएको छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले क्लिकमाण्डूसँग भने, ‘आयात घटेको र निर्यात बढेका कारण भुक्तानी सन्तुलन बचतमा रहन गएको हो ।’

भट्टले आयात निरुत्साहित गर्ने सरकारी नीतिको प्रभाव भुक्तानी सन्तुलनमा देखिएको बताए । तर, ०७६ असार मसान्तमा भने भुक्तानी सन्तुलन ६७ अर्ब रुपैयाँले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार ०७५ साउन महिनाको तुलनामा ०७६ साउनमा आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको छ । गत वर्षको साउनमा १ खर्ब २१ अर्ब रुपैयाँको आयात भएकोमा यो वर्षको साउनमा घटेर जम्मा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो । साउनमा बढेर १० खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

तर, अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असारको तुलनामा साउनमा १२ करोड डलरले घटेको छ । असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी सन्तुलन भनेको देश भित्रिने र देशबाट बाहिरिने रकमको हिसाब किताब हो । आयात घट्दा भुक्तानी सन्तुलन बचतमा रहेको हो ।


पुष्प दुलाल