चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणाली २ दिनभन्दा चलेन, अब कहिले चल्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले निकै तामझामका साथ गत भदौ २९ गते रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीको औपचारिकरुपमा शुरुवात गर्यो ।

उक्त प्रणालीको उदघाटन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र लर्ड मयेर अफ लन्डनका मेयर पिटर एलष्टिनले संयुक्तरुपमा गरेका थिए ।

अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको थियो । उदघाटन कार्यक्रममा सबै बैंकका सीइओहरु पनि उपस्थित थिए ।

नेपालमा यो प्रणालीको औपचारिक शुरुवात माछपुच्छ्रे बैंक र इन्भेष्टमेन्ट बैंकले २० करोडको भुक्तानी गरेर गरेका थिए । औपचारिक शुरुवात हुनुभन्दा ३ दिनअघि अर्थात् भदौ २६ गते राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकी कार्यकारी निर्देशकको माछापुच्छ्रे बैंकमा भएको खाताबाट इन्भेष्टमेन्ट बैंकमा रकम पठाएर सफल कारोबार गरिएको थियो ।

चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए

यसरी तामझामका साथ शुरु गरिएको आरटीजीएस प्रणाली २ दिनभन्दा नचलेको बैंकरहरु बताउँछन् ।

‘आरटीजीएस प्रणाली औपचारिक शुरुवात भएको २ दिन चल्यो, त्यसपछि चलेको छैन,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘सबै कारोबार पूरानै प्रणालीमार्फत् भइरहेको छ ।’

ग्राहकहरु आरटीजीएस प्रणालीमार्फत् कारोबार गर्न बैंक पुग्दा बैंकका कर्मचारीले सिस्टम नचलेको भन्दै पूरानो सिस्टमबाट मात्रै कारोबार गर्न सकिने बताउँदै आएका छन् ।

चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया

केही दिनयता आरटीजीएस प्रणाली सञ्चालन हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले स्वीकार गरे ।

‘एक/दुई दिन यतादेखि आरटीजीएस प्रणाली सञ्चालन हुन सकेको छैन, नयाँ सफ्टवेर र सिस्टम राख्दा केही समय संसारभर यस्ता समस्याहरु आउने गर्छन्,’ प्रवक्ता निरौलालो क्लिकमाण्डूसँग भने ।

भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात, चेकनै नकाटी रकम भुक्तानी गर्न सकिने

निरौलाका अनुसार नयाँ प्रणालीको शुरुवात गरेपछि ५/६ महिना नयाँ र पूरानो दुबैं प्रणालीका सफ्टवेरहरु समानान्तर रुपमा सञ्चालन गरिन्छ । तर, आरटीजीएस प्रणालीमा भने नयाँ र पूराना दुबै सफ्टवेर समानान्तर रुपमा सञ्चालन गर्न नसकिने भएकाले समस्या उत्पन्न भएको हो ।

‘समस्याको समाधान भइरहेको छ,’ उनले भने, ‘अब दशैंपछि देखि चल्छ ।’

आरटीजीएस प्रणाली कार्यान्वयन भएसँगै चेक काट्नुपर्ने युगको अन्त्य हुने बताइएको थियो । किनभने यो प्रणलीमार्फत् कारोबार गर्दा चेक काट्नु पर्दैन । भुक्तानी दिनेले पलानो बैंकको फलानो खाता नम्बरमा यति रुपैयाँ जम्मा गरिदिनू भनेर बैंकलाई लिखित आदेश दिएपछि तत्कालै भुक्तानी हुन्छ ।

राष्ट्र बैंकले लागू गर्यो आरटीजीएस प्रणाली

राष्ट्र बैंकले तत्कालका लागि २० लाखभन्दा माथिको भुक्तानी अनिवार्यरुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्ने भनेको थियो भने २ लाख भन्दा माथिको कारोबार चाहीँ स्वेच्छिकरुपमा गर्न सकिने भनेको थियो ।

राष्ट्र बैंकले पर्याप्त पूर्वतयारी बिना हतारहतारमा आरटीजीएस प्रणाली शुरु गरेकाले यस्तो भएको हो ।


पुष्प दुलाल