हुन्डाइको आई- २० र मारुती सुजुकीको बलेनोमा कुन गाडी राम्रो ?



काठमाडौं । गाडी पारखीहरुका लागि गाडी उत्पादक कम्पनीहरुले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्नमा तीब्र प्रतिस्पर्धा छ ।

यही प्रतिस्पर्धाका कारण गाडी किन्ने गाडी प्रयोगकर्ताहरुका लागि गाडी छान्न निकै समय लाग्ने गरेको छ । किनकी सबै गाडी आ-आफ्ना विशेषतासहित उत्पादन गरिएका हुन्छन् ।

गाडी प्रयोगकर्ताहरुको मन जित्न र आफ्नो व्यापार बढाई बजारमा आफ्नो वर्चस्व कायम गर्न गाडी कम्पनीहरुको तँछाडमँछाड नै देखिन्छ ।

अहिले बजारमा भएका विभिन्न मोडलका गाडीहरुमध्ये हुन्डाइले उत्पादन गरेको आई-२० र मारुती सुजुकीको बलेनो गाडी उपभोक्ताले निकै धेरै पराइएका गाडी हुन् । यी २ गाडी मन पराइनुका पछाडी के कस्ता विशेषता रहेका छन् । र, दुईमध्ये कुन गाडी राम्रो छ त ? यो एक चासोको विषय पक्कै हो ।

यही सन्दर्भलाई आधार बनाएर यी २ गाडीका मूख्य विशेषताहरुलाई केलाउने प्रयास गरिएको छ ।

विशेषत यी दुई गाडीको क्षमता समान ११९७ सिसी रहेको छ । त्यसैगरी दुबै गाडीमा ४ वटा सिलिण्डर रहेका छन् । त्यसै गरी ग्राउन्ड क्लियरेन्सको सन्दर्भमा पनि यी २ गाडी समान रहेका छन्, जसको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम रहेको छ ।

गाडी प्रयोगकर्ताहरुले चासोका रुपमा हेर्ने अर्को पाटो हो ब्रेक । किनकी गाडीको ब्रेक र त्यसको प्रभावकारीता सुरक्षाको सवालमा निकै महत्वपुर्ण मानिन्छ । यी दुई गाडीमा भएका ब्रेक कस्ता छन् त ? यो विशेष चासोको विषय हो । र, ब्रेकको सन्दर्भमा पनि यी दुई गाडीमा कुनै भिन्नता छैन । दुवै गाडीको फ्रन्ट ब्रेक डिस्क र रियर ब्रेक ड्रम रहेका छन् ।

त्यसैगरी दुबै गाडीमा भएका समानतामा ढोका र सिट क्षमता रहेका छन् । दुबै गाडीको सिट क्षमता ५ रहेको छ भने ढोकाको संख्या पनि ५ रहेको छ । यतिधेरै समानता भएका गाडीमा गियर पनि ५ वटा रहेको छन र दुबैमा ट्युबलेस टायर फिट गरिएको छ ।
त्यसैगरी दुईवटै गाडीमा रहेका अन्य समान विशेषताहरुमा एयर व्याग, प्यासेन्जर एयरब्याग, एविएस, इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टि लक, पावर डोर लक, हेडल्याम्प विम एडजस्टर, फ्रन्ट कप होल्डर्स, सिट बेल्ट वार्निङ, लो फ्युल वार्निङ, डोर अजार वार्निङ पनि रहेका छन् ।

तर पछिल्लो समय विभिन्न गाडीमा पाइने केही सुविधाहरु यी दुबै गाडीमा पाइँदैन । साइड एयर व्याग, ब्रेक एसिस्ट, हिल एसिस्ट, अटोमेटिक हेडल्याम्स, कर्नरिङ लाइटस, रियर वाइपर, रेन सेन्सिङ वाइपर, हेडलाइट वासर जस्ता सुविधाहरु दुबै गाडीमा पाइँदैन ।

यतिधेरै समानता भएका २ गाडीबीचमा भिन्नता के-के छन् त ?

गाडीमा रहेका भिन्नता नै कुन गाडी अलि राम्रो र कुन अलि कम भनेर छुट्याउन सजिलो हुने पक्ष हुन् । गाडीको इन्जिन मूख्य पाटोका रुपमा चिनिन्छ । यी दुई गाडीमा रहेको इन्जिनमा केहि भिन्नता रहेको छ ।

आई-२० मा १.२ लि. डुअल भिटीभिटी पेट्रोल इन्जिन रहेको छ भने बलेनोमा १.२ लि. भिभिटी पेट्रोल इन्जिन रहेको छ । त्यसैगरी आई-२० ले ११५ एनएममा ४ हजार आरपिएम टर्क उत्पादन गर्छ भने बलेनोले ११३ एनएममा ४२०० आरपिएम टर्क उत्पादन गर्छ ।

त्यसै गरी ग्राहकले गाडी किन्दा ख्याल गर्ने अर्को पाटो हो गाडीका आकार । आकारको सन्दर्भमा पनि यी दुई गाडीबीच केही भिन्नता रहेको छ । आई-२० को लम्बाई ३९८५ एमएम, चौडाई १७३४ एमएम र उचाई १५०५ एमएम रहेको छ भने बलेनाको लम्बाई ३९९५ एमएम, चौडाई १७३४ एमएम र उचाई १५१० एमएम रहेको छ । ह्वीलबेसमा पनि २ गाडीमा थोरै भिन्नता छ ।

आई-२० को ह्वीलबेस २५७० एमएम रहेको छ भने बलेनोको ह्वीलबेस २५२० एमएम रहेको छ ।

गाडीमा हुने बुटस्पेस गाडी प्रयोगकर्ताले हेक्का राख्ने अर्को पाटो हो । बुटस्पेसमा पनि यी २ गाडीमा भिन्नता देखिन्छ । आइ-२० मा २९५ लिटर बुटस्पेस छ भने बलेनोमा ३३९ लिटर क्षमताको बुटस्पेस रहेको छ ।

कुन गाडीको ट्याङकीमा कति तेल अट्छ त ? यो पनि गाडी प्रयोगकर्ताको अर्को रोजाईको विषय हो । हुन्डाईको आई-२० मा ४० लिटर तेल क्षमता रहेको छ भने बलेनोमा ३७ लिटर क्षमता रहेको छ ।

पावर स्टेरिङ भएका दुबै गाडीमध्ये बलेनोमा एडजस्टेबल पावर स्टेरिङ सुविधा छ भने यो सुविधा हुन्डाईको आई-२० मा छैन । त्यसै गरी बलेनोमा एभरेज फ्युल इफिसियन्सी इन्डिकेटर सुविधा छैन भने आई-२० मा यो सुविधा लिन सकिन्छ ।


पुष्प दुलाल