गुणस्तरको झगडाले फुट्यो सिमेन्ट उत्पादक संघ, डेढ दर्जन सदस्यको राजिनामा



काठमाडौं । सिमेन्ट उद्योगीहरुको छाता संगठन सिमेन्ट उत्पादक संघमा विवाद चुलिएको छ । संघका अध्यक्ष र पदाधिकारीहरु आफ्नो व्यक्तिगत स्वाथ्र्य पूर्ति गर्न लागेको आरोप लगाउँदै डेढ दर्जन बढी साधारण सदस्यहरु संघबाट बाहिरिने घोषणा गरेका छन् ।
जम्ममा ५५ जना सदस्य रहेको संघबाट १८/२० जना सदस्यहरुले बाहिरिने निर्णय गरेका हुन् ।

‘संघको कार्यमितिमा रहेका साथीहरु सदस्यहरुको हितमा होइन, आफ्नो हितमा लाग्नुभयो, तयसैले हामी ठूला उद्योगीहरु संघबाट बाहिरिने निर्णय गरेका हौं,’ संघका सदस्यसमेत रहेका नेपाल उद्योग वाणिज्य महसंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले क्लिकमाण्डूसँग भने ।

संघको कार्यसमितिले नेपाली सिमेन्टको गुणस्तर भारतीय स्ट्यान्डर्डको अर्थात् एमजीओ ६ प्रतिशत राख्न पाउने व्यवस्था गर्नका लागि सरकारलाई सुझाब दिने निर्णय गरेको थियो ।

तर, संघका अध्यक्ष ध्रुब थापासहित पदाधिकारीहरुले सरकारसँग ५ एमजीओको गुणस्तर हुनुपर्नेमा सम्झौता गरेका थिए । संघमा भएको निर्णयको विरुद्धमा अध्यक्षसहिथ केही पदाधिकारीले सरकारसँग सम्झौता गरेपछि विवाद चुलिएको हो ।

‘नेपालमा सिमेन्टको उत्पादन अत्याधिक भइरहेको छ, स्थानीय बजारले मात्रै खपत गर्न सक्दैन, अब निर्यात गर्नैैपर्ने हुन्छ,’ मुरारकाले भने ‘निर्यात गर्नका लागि भारतीय स्ट्यान्डर्डको गुणस्तर हुनुपर्छ । किनभने हाम्रो निर्यातको बजार भनेको भारत हो ।’

सौरभ ग्रुपका प्रमुख विष्णु न्यौपानेका अनुसार संघको निर्णय कार्यसमितिले लत्याएपछि उक्त संस्थामा बस्नुको औचित्य नभएको बताए । न्यौपानेका विभिन्न ५ ब्राण्डका सिमेन्ट उत्पादन भइरहेका छन् । उनले ह्वाट्स्याप मार्फत् म्यासेज पठाउँदै आफू र आफ्ना कम्पनीहरु साधारण सदस्य नरहेको जानकारी गराएका हुन् ।

न्यौपानेका जगदम्बा, सर्बोत्तम लगायत ब्राण्डका सिमेन्ट छन् ।

त्यसैगरी त्रिवेणी ग्रुप पनि संघबाट बाहिरिने भएको छ । यो ग्रुपसँग ३/४ ब्राण्डका सिमेन्ट छन् ।

त्यस्तै, पशुपति मुरारका संलग्न रहेको अर्घाखाँची, बृज, सिदार्थ, सुप्रिम ब्राण्डका सिमेन्ट पनि संघबाट बाहिरिने भएको छ ।
त्यस्तै, पाल्पा सिमेन्ट, नेपालगञ्जको जय मंगलम सिमेन्ट, आरएमसी सिमेन्ट, शिवम् सिमेन्ट पनि सदस्यबाट बाहिरिने भएका छन् ।
‘२०/२० सदस्यहरु संघबाट बाहिरिने घोषणा गरेका छन्,’ विष्णु न्यौपानेले भने, ‘अब हामी निष्क्रीय रहेका नेपाल क्लिङ्कर तथा सिमेन्ट उत्पादक संघलाई सक्रिय बनाएर अघि बढ्छौं ।’

५ वर्षअघि गठन भएको नेपाल क्लिङ्कर तथा सिमेन्ट उत्पादक संघ निष्क्रीय अवस्थामा थियो । धेरैवटा संगठन हुँदा सरकारसँग लविङ गर्न कठिन हुने भएको भन्दै सबैले सिमेन्ट उत्पादक संघलाई सहयोग गर्दै अघि बढाएका थिए ।

तर, संघले सदस्यहरुको हितमा काम गर्न नसकेको भन्दै ५ वर्षपछि निष्क्रीय रहेको संगठनलाई सक्रिय बनाउन लागिएको हो ।
स्रोतका अनुसार आगामी साता नै उक्त संघलाई सक्रिय बनाइने छ ।

संघको गत माघ १७ गते भएको संघको १४औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन । संघका अध्यक्ष ध्रुब थापाकै प्रस्तावमा पशुपति मुरारकालाई सर्वसम्मत अध्यक्ष बनाउने भनिएको थियो । तर, पछि केही सदस्यहरुले नमानेपछि साधारणसभाले नेतृत्व चयन गर्न नसकी सकिएको थियो ।

साढे ७ महिनापछि संघका अध्यक्ष ध्रुब थापालाई नै निरन्तरता दिइएको छ । थापालाई निरन्तरता दिने प्रक्रियामा २ दर्जन सदस्यहरु सहभागी भएनन् ।


पुष्प दुलाल