सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुब थापाको निरन्तरता



काठमाडौं । सिमेन्ट उत्पादकहरुको संस्था सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुब थापाले निरन्तरता पाएका छन् । यसअघि पनि अध्यक्ष रहेका थापालाई नयाँ कार्यकालका लागि पनि निरन्तरता दिइएको हो ।

संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल, महासचिवमा जयन्द्र चुडाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा विकास दुगड, राजेन्द्र भट्टराई, राजनकुमार झा, केशवप्रसाद उप्रेती र सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भएका हुन् ।

गत माघ १७ गते भएको संघको १४औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका व्यवसायी पशुपति मुरारकालाई सर्वसम्वत अध्यक्ष चयन गर्न खोजिएको थियो ।

तर, विवाद बढेपछि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया स्थगन गरिएको थियो । ७ महिनापछि पूरानै अध्यक्ष ध्रुबबहादुर थापाको कार्यसमितिलाई निरन्तरता दिइएको छ ।

गत माघ १७ गते क्लिकमाण्डूमा प्रकाशित भएको ‘उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष’ शीर्षकको समाचार गलत हुन गएकोमा क्षमा प्रार्थी छौं । -सम्पादक


पुष्प दुलाल