नलगाड जलविद्युत् आयोजना: ३ हजार ८६१ जग्गाधनीलाई २ अर्ब ७२ करोड मुआब्जा बाड्ने तयारी



काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा रहेको नलगाड जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले आज एक सूचना मार्फत मुआब्जा पाउनेको नामावली प्रकाशनमा ल्याएको हो ।

सूचना मार्फत सरकारले जाजरकोटमा निर्माण हुन लागेको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।

सरकारले सो आयोजनालाई जलाशयुक्त प्रकृतिको आयोजनाको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । हाल सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार आयोजनाबाट बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने साविकको सकला गाविसका वडा नं. १, २, ३, ४, ७, ८ र ९, नायकवाडाका ५, ६, ७ र ८, रोकायागाउँका ६ र ९ सँगै रामीडाँडाका १, २, ३ र ६ वडा डुबानमा पर्ने अनुमान गरिएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ (१) अनुसार अघि बढाइएको मंगलबार प्रकाशित सूचनामा उल्लेख छ । आयोजनाले ३ हजार ८६१ जग्गाधनीलाई मुआब्जा दिने भएको छ ।

मुआब्जा पाउनेहरुको नाम र जग्गाको क्षेत्रफल सार्वजनिक गरेको प्रशासनले मुआब्जा प्राप्तिका लागि १५ दिनभित्र जग्गाधनी प्रमाणपत्रलगायतका कागजातसहित सम्पर्क राख्न आग्रह गरेको सूचनामा उल्लेख छ ।

प्रशासनका अनुसार, सूचीमा छुटेका या चित्त नबुझेका व्यक्तिले पनि कार्यालयमा सम्पर्क राखेर गुनासो राख्न सक्ने र आयोजनाबाट प्रभावित सबैलाई मुआब्जा दिने तयारी छ ।

सरकारले चालु आर्थिक वर्षमा आयोजनाका सबै पीडितलाई मुआब्जा बाँड्ने गरी २ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ ।

आयोजनाका अनुसार यसअघि बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युतगृह निर्माण हुने स्थानमा २५० रोपनीको मुआब्जा वितरण गरिएको थियो ।

यसउअघि आयोजना प्रभवितलाई प्रति रोपनी ४ लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको थियो । आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको डिपिआरको काम स्मेक एमडब्लुएच कन्सलटेन्टले गरिरहेको छ । पटक पटक म्याद थप भएपनि आयोजनाको डिपिआर तयारीमा भने ढिलाई भइरहेको छ ।


क्लिकमान्डु