घरबहालमा बस्नेलाई बढी महसुल नउठाउन भनेको प्राधिकरणले कति महसुल उठाउला ?



काठमाडौं । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले आइतबार पत्रकार सम्मेलन मार्फत ध्यानकर्षण गरायो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्न आग्रह पनि गरे । उनले जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिन आग्रह पनि गरे । त्यसो भए के कति महसुल तिर्नु पर्ला त ? प्रश्न पनि सँगै उठेको छ ।

प्राधिकरणका महसुल दर अनुसार के कति महसुल तिर्नुपर्छ भन्ने बारेमा जानकारी दिने प्रयास गरेका छौ ।

प्राधिकरणले २० युनिटसम्मको विद्युतमा ३० रुपैया सेवा शुल्क लिएको छ भने प्रतियुनिट ३ रुपैयाका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले ९० रुपैया महसुल तिर्नुपर्छ ।

यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रुपैया र प्रतियुनिट ७ रुपैयाका दरले लिने गरेको छ । यस आधारमा १२० रुपैया महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ रुपैया र प्रतियुनिट ८ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० रुपैया र प्रतियुनिट १० रुपैयाका दरले तिर्नुपर्छ । १५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट ११ रुपैयाँ २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १५० रुपैया प्रतियुनिट १२ रुपैया र त्यसभन्दा माथि सेवा शुल्क १७५ रुपैया र प्रतियुनिट १३ रुपैया का दरले तिर्नुपर्ने व्यवस्था छ ।

सो महसुल ५ एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युतमा अनावश्यक व्यापार नगर्न भनेको हो ।

घिसिङले भनेका थिए –प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन । उनले त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के कति हो सो आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई आग्रह गरे ।


क्लिकमान्डु