जुम्लामा विद्युत पुर्याउने कुलमानको बाचा पूरा भएन, छायो अन्धकार



काठमाडौं । केहीदिन पहिले प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणले आफ्नो जिल्लालाई अध्यारोमा राखेर भारतलाई विद्युत बिक्रीको तयारी गरेको भन्दै चर्को आलोचना गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फोन समेत नउठाएको तथा श्री ३ महाराज जस्तै भएको गुनासो गरे ।

उनको गुनासो लगत्तै प्राधिकरणका तर्फबाट एक सामाचार नोट सार्वजनिक गर्दै जुम्लामा विद्युत उपलब्ध गराउन तयार रहेको जनायो ।

तर प्राधिकरणले जुम्लाका लागि उपलब्ध गराएको कालीगण्डकी जलविद्युत आयोजनाको डिजल जेनेरेटर उपलब्ध गराएको थियो ।

तर सो जेनेरेटर समेत डिजल नभएकाले सञ्चालनमा आउन सकेको छैन ।

गत कात्तिकदेखि विद्युत संकट भएपछि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट त्यसै थन्किएको छ । विद्युत् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि उपकरण थन्किएको बताइएको छ ।

जुम्लाको विद्युत् संकटका विषयमा संसद्मा ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भएपछि साउन २९ मा डिजेल प्लान्ट जुम्ला पुगेको थियो ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताएका थिए ।

जुम्ला सदरमुकाम खलंगा महिनौदेखि विद्युतबिहीन भएको, तर सम्बन्धित व्यक्तिले फोनसमेत नउठाउने गरेको भन्दै सांसद महतले आलोचना गरेको थियो । सांसद महतले आलोचनापछि प्राधिकरणले जुम्लाका लागि ३०० केभीको डिजेल प्लान्ट पठाएको हो ।

डिजेल प्लान्टसँग एक जना कर्मचारीको व्यवस्था गरे पनि प्राधिकरणले डिजेल उपलब्ध नगराएकाले उपकरण थन्किएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढाथापाले बताए ।

प्राधिकरणले जुम्लाका सांसदको रिस थाम्नका निम्ति मात्रै विद्युत उपकरण दिएको रहेछ, उनले व्यंग गर्दै भने, ‘प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट हरियो घाँस र पानी हाल्दा पनि चलेन, प्रतिघन्टा ५० लिटर डिजल खर्च हुन्छ तर यो खर्च यहाँबाट जुटाउन सकिएन ।’

प्राधिकरणले डिजेल उपलब्ध नगराएपछि मेसिन थन्किएको उनको भनाइ छ ।

अहिले सांसद महतले स्थानीय पूर्वाधार कोषबाट २४ लाख ६० हजार रूपैयाँको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरी बिजुली बालिएको अध्यक्ष बुढाथापाले बताए ।

ज्याक्सन कम्पनीको २०० केभी (१६० किलोवाट) को मेसिनबाट बिजुली बालिएको छ । डिजेलबाट बिजुली बाल्दा बढी खर्च हुने भएकाले एक दिनमा ९ घण्टा मात्र विद्युत आपूर्ति गर्न सकिएको अध्यक्ष बुढाथापाले बताए ।

जुम्ला सदरमुकाम बत्तीबिहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै सांसद महतको सांसद विकास कोषबाट ५० लाख रूपैयाँ अल्पकालिन बत्ती बाल्नका लागि विनियोजन गरिएको हो ।

तीन दशकअघि निर्माण भएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत आपूर्ति बन्द गरिएको थियो । तर नयाँ मेसिन जडान गर्ने क्रममा ‘बेरिङ’ भाँचिएपछि विद्युत आपूर्ति सहज हुन सकेको छैन ।

मेसिन मर्मतका लागि धनगढी पठाएको मेसिन एक–दुई दिनमा जुम्ला पुग्ने र भदौ मसान्तसम्म पानीबाट बिजुली बाल्ने तयारी भइरहेको अध्यक्ष बुढाथापाले बताए ।

नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो ।

सो कार्यका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार रूपैयाँ र उपभोक्ता समितिको ४५ लाख २२ हजार ९०० रूपैयाँ लगानी गरेका छन् । नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको हो ।

उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको २६ लाख ४० हजार रूपैयाँ खर्च गरेर एक सय ६० किलोवाटको डिजेल प्लान्ट जडान गरिएको हो ।


क्लिकमान्डु