पूर्वअर्थमन्त्री महतले भने- विद्युत प्राधिकरणले उत्पादन र अनुगमन आफै गर्नु न्यायोचित छैन, स्वार्थ बाँझिएको छ



काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धती र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्छ, समयमा निर्णय हुनुपर्ने, काम गर्न गर्न प्रतिस्पर्धी क्षमता लगानीको लागि आवश्यक सर्त हुनुपर्छ । ’

उनले निजी क्षेत्रलाई कानूनद्वारा नै सुविधा दिइने नीतिको आवश्यकतमा जोड दिए ।

भने, ‘एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास जगाउँदैन । पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययनको आवश्यकता छ ।’

‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्रतिर हुनु हुदैन्’ उनले भने, ‘जबकि अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ ।’

उहाँले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए । विश्व वैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्वअर्थमन्त्री डा. महतले नेपालका सडक संसारमै गुणस्तरहीन हुने गरेको बताए ।

उनले नेपालमा उर्जाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने बताए ।

स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउदै डा. महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताए ।

उनले नेपाल विद्युत् प्राधिकरणले अहिले गरिरहेको काम कानून बमोजिम नभएको समेत बताए । प्राधिकरणले आफै विद्युत उत्पादन गर्ने र आफै अनुगमन गर्ने काम न्यायोचित हुँदैन् ।

‘यस्तो अवस्थामा निजी क्षेत्रले प्राधिकरणसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन’ उनले भने, ‘यस्तो भूमिकाले स्वार्थ बाँझिएको देखिन्छ ।’


क्लिकमान्डु