समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई उकास्न वित्तीय स्थायित्व कोष गठन गरिने



काठमाडौं । काठमाडौं समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहयोग गरी उकास्नका लागि वित्तीय स्थायित्व कोष गठन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐन- २०५८ लाई संसोधनको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएको राष्ट्र बैंक ऐनको संसोधन विधेयकमा वित्तीय स्थायित्व कोष गठन गरिने उल्लेख छ ।

अहिलेका अर्थमन्त्री खतिवडा गभर्नर भएको अवस्थामा झन्डै डेढ दर्जन वित्तीय संस्थाहरु समस्याग्रस्त भएका थिए । अहिले राष्ट्र बैंकले अधिकांशकलाई पुनः सञ्चालनमा ल्याइसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु समस्यामा पर्दा समग्र वित्तीय क्षेत्रमै त्यसको असर पर्ने भन्दै राष्ट्र बैंकले समस्यामा परेका वित्तीय संस्थालाई सहयोग गरी उकास्नका लागि आफ्नो ऐनमै वित्रीय स्थायित्व कोष गठन गर्न प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले गरेको प्रस्तावलाई अर्थमन्त्रीले कुनै हेरफेरि नगरी संसदमा प्रस्तुत गरेका हुन् ।

यसरी गठन गरिएको कोषमा सरकारले समय-समयमा रकम जम्मा गरिदिने छ । र, समितिले तोके बमोजिम बैंक तथा वित्तीय संस्थाबाट जम्मा हुन आएको रकम प्रचलित कानून बमोजिम स्थापित कुनै बैंक वा वित्तीय संस्था वित्रीय संकटमा परेको कारणले समग्र वित्तीय प्रणालीमा जोखिम उत्पन्न हुनसक्ने देखिएमा कोषको रकम त्यस्ता संस्थाको उत्थानका लागि प्रयोग गर्न सक्ने प्रस्ताव गरिएको छ ।


पुष्प दुलाल