साइबर र आइटी सुरक्षा व्यवस्था कडा बनाउन राष्ट्र बैंकको ३ बुँदे निर्देशन



काठमाण्डौ । विभिन्न एटिएम ह्याक करी साढे ३ करोड रुपैयाँ चोरी भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साइबर र आइटी सेक्युरीटीमा सगज बन्न ३ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै सचेतना अपनाउन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइट, मोवाइल एप, आधिकारिक सामाजिक सञ्जाल तथा सूचना प्रविधि प्रणालीमा पनि साइबर अट्याक, मालवेयर भाइरस, रेन्समवेयर जस्ता जोखिम, बाह्य जोखिम, स्पाम, फिसिङ, स्पूफिङ आदि माध्यमबाट वा प्रणालीमा अनधिकृत पहुँच गरी सूचना चुहावट र चोरी तथा आर्थिक चोरीको जोखिम, आधिकारिक सेवाको पहुँच रोक्ने लगायतका जोखिमबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न आवश्यक पेरिमेटर डिफेन्स, एक्सेस कन्ट्रोल, इन्क्रीप्सन, एन्टीभाइरस, फायरवेल, आदि जस्ता प्राविधिक क्षमता सुदृढ गर्ने व्यवस्था गर्ने र अद्यावधिक गर्ने, सूचना आदानप्रदान गर्दा, भुक्तानी आदेश गर्दा एवम् सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र व्यवस्था मिलाउन राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

त्यसैगरी, कतिपय असम्बन्धित व्यक्ति र स्थानबाट नक्कली पत्रचार एवं भुक्तानीको आदेश समेत प्रयुक्त प्रणालीको दुरुपयोग गर्ने प्रयासहरु भएको सन्दर्भमा प्रणालीहरुको आवश्यकता अनुगमनको व्यवस्था गर्ने र भएका घटना र आक्रमणको सूचना सम्बन्धित निकायमा दिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुमा रहेको प्रणालीहरुको प्रिभेन्टिभ, डिरेक्टिभ एण्ड रेस्पोन्सिभ आइटी सेक्युरीटी स्टार्टेजी तयार गर्न राष्ट्र बैंकको निर्देशन छ ।

त्यसैगरी, प्रयोगमा ल्याएको आइटी सिस्टमको सेक्युरीटी अडिट गरी सोबाट देखिएका समस्याहरुलाई तत्काल सम्बोधन गर्दै अन्तर्राष्ट्रिय असल अभ्यास पुर्वसक्रियता व्यवस्थापन गर्न र कर्मचारी तथा प्रयोगकर्ताको क्षमता अभिवृद्धिको आवधिक व्यवस्था गर्नुहुनका साथै नेपाल सरकार मत्तिपरिषदबाट स्वीकृत सूचना प्रविधि आकस्मिक सहायता समूह (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका बमोजिम साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल सहायता उपलब्ध हुने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।


पुष्प दुलाल