माउन्ट एभरेष्ट पावरले सोलुखुम्बुमा १२ मेगावाटको आयोजना बनाउँदै




काठमाडौ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका १ मा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

माउन्ट एभरेष्ट पावर डेभलोप्मेन्ट प्रालि प्रबद्र्धक रहेको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
आयोजनाले विद्युत उत्पादन अनुमति प्रक्रियाका लागि दरखास्त दिइसकेको छ ।

नदी प्रवाहमा आधारित सो आयोजनाको डिजाइन वहाव ४.५९ घनमिटर प्रति सेकेन्ड रहेको छ । कुल हेड ३१६ मिटर रहने आयोजनाले वार्षिक ७१.५२ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन गर्नेछ ।

आयोजनाको मूख्य संरचना दुधकुण्ड खोलाको दायाँ किनारमा पर्छ भने आयोजनास्थल पानसुरे खोला दोभानमा निर्माण गरिनेछ । दुधकुण्ड खोलामा १३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ ।

विद्युतगृहमा ६३०० किलोवाट क्षमताका २ वटा पेल्टन टर्वाइन जडान गरिनेछ ।

उत्पादित उर्जालाई विद्युत गृहको ३३ केभी स्वीचयार्डमा जडान हुने २ वटा ७.५ एमभीए क्षमताका ट्रान्सफमरबाट १८ किलोमिटर लामो ३३ केभी डबल सर्किट प्रसारणलाइनमार्फत् तिंगला सवस्टेसनमा जोडिनेछ ।

आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिन लागेकाले सरोकारवालाहरुलाई कुनै वातावरणीय प्रभाव पर्ने भए आवेदन दिन आग्रह गरिएको छ ।


क्लिकमान्डु