विद्युतीय कारमा आकर्षण: अटो शोमा किन्नेले डेढ लाख रुपैयाँसम्म छुट पाउने, कुनमा कति छुट ?



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा यतिबेला सवारीसाधनको कुम्भमेला मानिने नाडा अटो शो चलिरहेको छ ।

मेलामा विभिन्न ब्राण्डका नयाँ-नयाँ मोडेलका सवारीहरु सार्वजनिक भइरहेका छन् । जसमध्ये यो वर्ष विद्युतीय सवारीमा निकै आकर्षक देखिएको छ ।

मेलामा ९ वटा कम्पनीले विद्युतीय सवारी साधन प्रदर्शनीमा राखेका छन् ।

विद्युतीय सवारी साधन नेपाली हावापानी सुहाउने, इन्धन पखत हुने, नेपाली मुद्रा विदेशीन कम हुने, यस्ता सवारी साधन प्रयोगकर्तालाई आर्थिक भार कम पर्ने भएकोले पनि यसको उपयोगीता बढेको छ । भने उपभोक्ताहरुको रुचि पनि विद्युतीय सवारीमा बढेको देखिन्छ ।

शो अवधिमा कम्पनीहरुले इलेक्ट्रिक सवारीमा १ लाख ५० हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेका छन् ।

प्युजोट

यो कम्पनीले अटो शोमा ६० लाख रुपैयाँ पर्ने गाडी ल्याएको छ । यो गाडीलाई ६० लाख रुपैयाँ पर्ने भएपनि शो भरीको लागि भने यसको मूल्यमा १० लाख रुपैयाँ घटाएर ५० लाखमा नै दिने कम्पनीले जनाएको छ ।

प्युजोटको पार्टनर टिप इभि मोडलको गाडीको ४९ किलोवाट क्षमता छ भने ६७ हर्ज पावर रहेको छ । यो गाडी आफ्नै घरमा राखेर शतप्रतिशत चार्ज गर्ने हो भने झण्डै ८ घन्टा लाग्नसक्छ । ८ घन्टा चार्ज गरेपछि एसि चलाएपछि १३० किलोमिटर गाडी कुदाउन सकिन्छ ।

विदेशमा १७० किलोमिटर गुडने आँकलन गरेपनि नेपाली बाटोका कारण १३० किलोमिटर भन्दा बढी चल्न नसक्ने कम्पनीले जनाएको छ ।

यो गाडीको ब्याट्रीमा ५ वर्षको वारेन्टी छ । गाडी खरिद गर्नेहरुको लागि कम्पनीले नै स्टयाण्र्डड चार्टर बैंकबाट ऋण लिनको लागि सहजिकरण गर्ने छ भने बीमाको लागि शिखर इन्स्योरेन्स रहेको छ ।

बीवाईडी

बीवाईडी कम्पनीले बीवाईडी ई६ मोटलको गाडी अटो शोमा राखेको छ । यो गाडीको मूल्य ६६ लाख रुपैयाँ रहेको छ । नाडा शो अवधिभरका लागि भने ६५ लाख रुपैयाँ मात्रै । नाडा शोको लागि भनेर कम्पनीले १ लाख रुपैयाँ छुट दिएको जनाएको छ ।

यो गाडी एकपटक चार्ज गरेपछि ४०० किलोमिटर चलाउन सकिन्छ । यति चलाउँला ८० किलोवाट विद्युत खपत हुने छ । यो गाडीको चार्ज ४५ मिनेटमा ८० प्रतिशत गर्न सकिन्छ । यो गाडीको ब्याट्रीको आयु २० वर्ष छ भने गाडीमा ५ जनाको सिट क्षमता छ ।

कम्पनीका अधिकारीहरुका अनुसार यो गाडीको लागि मात्रै मेरा सुरु भइसकेपछि २५ जना भन्दा बढीले बुकिङको लागि नाम टिपाइसकेका छन् ।

गाडीमा पहिलो ५ वर्ष ग्यारेन्टी र अर्को ५ वर्ष वारेन्टी दिइएको छ । त्यस्तै, ७ हजार ५ सय किलोमिटरसम्म सर्भिस सेवा समेत छ । यो गाडी २ रुपैयाँ २५ पैसाको चार्ज गरेर १ किलोमिटर चलाउन सकिन्छ ।

कम्पनीले गाडी चार्ज गर्नको लागि नक्साल र पुल्चोकमा चार्जिङ सेन्टर बनाएको छ । यो गाडी खरिद गर्नेहरुको लागि नबिल र एनएमबी बैंकबाट ऋण लिने हो भने कम्पनीले नै सहजिकरण गर्ने जनाएको छ ।

एमजी

एमजी कम्पनीले ४९ लाख ९९ हजारमा एमजी जेडएस इभी ल्याएको छ । एकपटक चार्ज गरेपछि यो गाडी ४२८ किलोमिटर चलाउन सकिन्छ । यसको अत्यधिक पावर ११० किलोवाट रहेको छ ।

यो गाडी स्टार्ट भएको ३.१ सेकेण्डमा ५० किलोमिटरसम्मको पिकअप लिन्छ । ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । सामान्य चार्जबाट फुल चार्ज गर्दा भने ६ घन्टा ५० मिनेट लाग्ने छ ।

दिगो

दिगो समूहले नाडामा सुपर सोको ब्राण्डका २ वटा विद्युतीय कार ल्याएको छ । जसमा ई८ र ईएम३ छन् । ई८ को मूल्य १८ लाख ९५ हजार रुपैयाँ रहेपनि नाडा अवधिमा भने १७ लाख ९५ हजार रुपैयाँमा कम्पनीले उपलब्ध गराएको छ ।

नाडा अवधिको लागि १ लाख रुपैयाँ सस्तो रहेको छ । मेलामा बुक गर्नेहरुको लागि यो गाडी लिँदा ३ वर्षको बीमा र १० वटा पाटपुर्जा निुशल्क दिने जनाएको छ । गाडीमा ५ सिट क्षमता छ ।

यसको अत्यधिक पावर १५ किलोवाट छ भने अत्यधिक गति ६० देखि ७० किलोमिटर प्रतिघन्टा छ । यो गाडी फूल चार्ज गरेपछि २०० किलोमिटरसम्म चलाउन सकिन्छ । यसको ब्याट्रीको क्षमता १४.६ किलोवाट हर्ज छ ।

उक्त समूहले ल्याएको ईएम ३ को मूल्य २९ लाख ४९ हजार रुपैयाँ राखेको छ । नाडा शोको लागि भन्दै मूल्य घटाएर २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो गाडी किन्दा १ लाख ५० हजार रुपैयाँ छुट पाइने छ ।

नाडो शोमा यो गाडी खरिद गर्दा २ वर्षको बीमा र १० प्रकारका पार्टपुर्जा निशुल्क पाउने जनाएको छ । यो गाडीमा पनि ५ जनाको सिट क्षमता रहेको छ । यसको ब्याट्रीको क्षमता २२.१ किलोवाट हर्ज रहेको छ । यो गाडीको चार्ज गर्दा चार्जिङ स्टेशनमा जाने हो भने १ घन्टामा ८० प्रतिशत गर्न सकिन्छ ।

कियाः

किया ब्राण्डको निरो इभि शो राखिएको छ । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ छ । यो गाडी चार्ज गर्न चार्जिङ स्टेशनमा जाँदा ७ घन्टामा फूल चार्ज गर्न सकिन्छ ।

यस्तै घरमा नै चार्ज गर्ने हो भने २४ घन्टामा फूल चार्ज हुन्छ । यो गाडी एक पटक फूल चार्ज गर्दा १७० किलोमिटरसम्म चलाउन सकिन्छ । यो गाडीको ब्याट्री क्षमता ४५० किलोमिटरभन्दा बढी रहेको छ । यसको ब्याट्री क्षमता ६४ किलोवाट हर्ज रहेको छ । गाडीको अत्यधिक गुडने क्षमता १६७ किलोमिटर रहेको छ ।


पुष्प दुलाल